मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’मा कलाकारको पल्टन: रेखाको पनि इन्ट्री

फिल्मीखबर, काठमाडौं, 2024/07/14

rekha thapa

 

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको निर्माण एवं अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपालीसहित भारतीय कलाकारहरुको पल्टन नै छ । नेपालबाट नीता र हरिहरका साथै विपना थापा, सञ्चिता लुईंटेल, प्रशान्त ताम्राकार, गरिमा शर्मा जस्ता कलाकार छन् भने भारतबाट ब्रम्हानन्दम, सुनील वर्मा, प्रदीप रावत, अली र कबीर दुहन सिंहले अभिनय गरेका छन् ।

छायांकनको अन्तिम दिनमा समेत कलाकार प्रवेशको श्रृंखला रोकिएको थिएन । असारको दोस्रो साता काठमाडौंमा फिल्मको तेस्रो चरणको छायांकन गरिएको थियो । त्यसको अन्तिम दिनमा अभिनेत्री रेखा थापा भित्रिएकी थिइन् । उनले काखको बच्चालाई छाडेर झन्डै ५/६ घण्टा छायांकनमा विताइन् । फिल्ममा उनको भूमिकाले दर्शकलाई ‘सरप्राइज’ बनाउने निर्देशक चन्द्र पन्तको दाबी छ ।

‘रेखा दिदीको लुक्स र भूमिका बबाल नै छ । अहिलेसम्म नदेखेको क्यारेक्टरमा देखिँदै हुनुहुन्छ । उहाँको भूमिकाले फिल्ममा ठूलो अर्थ राख्छ । दर्शक ‘सरप्राइज’ हुनेछन्,’ निर्देशक पन्तले भने । रेखाको दृश्य खिचिएसँगै फिल्मको दुई गीतबाहेक सम्पूर्ण छायांकन सकिएको चन्द्रले बताए । दुईवटा गीतमध्ये एउटा गीत केही दिनमा खिचिँदैछ भने अर्को प्रमोसनल गीत खिच्ने तयारी गरिएको छ ।

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा हरिहर अधिकारीको कथा लेखन छ । भारतीय छायाँकार कवीरलालले फिल्म खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता थुप्रै बलिउड फिल्म खिचेका छन् । फिल्ममा मित्र डि. गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको नृत्य निर्देशन छ ।