एकातिर ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धा र अर्कोतिर केही दिनदेखि परेको अविरल वर्षाले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’को व्यापार प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । तर, जब फिल्म रिलिज भयो, तब हलको माहोल फरक देखियो । शुक्रबार सन्तोषजनक व्यापार गरेको फिल्मले शनिबार काठमाडौं र मोफसलका धेरै हलहरुमा हाउसफुल दर्शक पाएको थियो ।
शनिबार मौसमले पनि साथ दिँदा फिल्मलाई ठूलो फाइदा पुग्यो । बिहान करिब ४० प्रतिशत अकुपेन्सी देखिएकोमा दिउँसो र साँझ समग्रमा देशभर ८० प्रतिशतसम्म अकुपेन्सी रहेको थियो । यसलाई उत्साहजनक नै मान्न सकिन्छ । विशेषगरी आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको सहरहरुमा ‘घरज्वाइँ’को व्यापार राम्रो देखिन्छ । फिल्मको विषयवस्तु यसको मुख्य कारण हुनसक्छ ।
निर्माण टिमले दुई दिन (शुक्रबार र शनिबार)को व्यापार सार्वजनिक नगरेको भए पनि ६० लाखमाथि हुनसक्ने अनुमान गरिएको छ । अब भने फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । किनकि, आइतबारबाट कामकाजी दिन सुरु भएको छ । अब स्टारले नभइ कन्टेन्टको बलबुतामा दर्शकलाई हलमा आकर्षित गर्नुपर्ने हुन्छ । यसमा निर्माण टिम विश्वस्त देखिएको छ ।
दुई दिन फिल्मले राम्रो व्यापार गरेपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले खुसी व्यक्त गरेका छन् । डेब्यु निर्देशक अनिल बुढा मगरले पनि आफ्नो पहिलो प्रयासमा नै दर्शकको यो किसिमको साथ र उत्साहजनक प्रतिक्रियाले आगामी दिनमा अझ उत्कृष्ट फिल्म बनाउन चुनौती थपिएको बताएका छन् । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथा फिल्मले उठाएको छ ।