कुनै बेला बक्स अफिसका ‘हिट मेशिन’ मानिएका बलिउड सुपरस्टार अक्षर कुमार यतिबेला संकटमा छन् । सन् २०२३ मा आएको फिल्म ‘ओमाईगड २’लाई छाड्ने हो भने ३ वर्षमा उनका ७ वटा फिल्म ‘फ्लप’ भए । उनले ठूलो अपेक्षा राखेको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ समेत डिजास्टर हुँदा उनको स्टारडममै प्रश्न उठेको छ । कतिपयले अब उनको युग सकिएको टिप्पणी गरिरहेका छन् ।
यस वर्षका लागि अक्षयको दोस्रो फिल्म ‘सरफिरा’ यही शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो फिल्म सन् २०२० मा आएको सूर्या स्टारर सुपरहिट तमिल फिल्म ‘सोरारई पोटरू’को हिन्दी रिमेक भएकाले व्यापार आक्रामक हुनसक्ने प्रक्षेपण गरिएको थियो । तर, फिल्मको ओपनिङले नै फ्लपको संकेत गरेको छ । अक्षयका अघिल्ला ‘फ्लप’ फिल्मको भन्दा पनि दयनीय ओपनिङ मिलेको छ ।
ट्रेन्ड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन २ करोड ५० लाख र दोस्रो दिन ४ करोड ५० लाख गरी दुई दिनमा ७ करोडको व्यापार गरेको छ । दोस्रो दिन व्यापारमा २ करोडले वृद्धि भए पनि अक्षयको स्टारडमको तुलनामा यो अंक निकै नाजुक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आइतबार भारतमा विदा भएकाले फिल्मको व्यापार केही बढ्न सक्ने देखिन्छ ।
‘सरफिरा’को ओपनिङ अक्षयको १५ वर्षयताकै कमजोर हो । पछिल्लोपटक सन् २००९ मा आएको उनी अभिनीत ‘एट एक्स टेन’ले १ करोड ८० लाखको ओपनिङ गरेको थियो । त्यसपछि उनका कमजोर ओपनिङ गर्ने फिल्महरुमा ‘सेल्फी’ (२ करोड ५० लाख), ‘मिशन रानिगञ्ज’ (२ करोड ८० लाख) र ‘बेल बटम’ (२ करोड ७५ लाख) आउँछन् । अब यो सूचीमा ‘सरफिरा’ पनि थपिएको छ ।
यद्यपि, यो फिल्मले समीक्षा राम्रो पाएको छ । कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा गर्दै कोइमोइ ४ रेटिङ दिएको छ भने टाइम्स अफ इन्डियाले ३.५ रेटिङ दिएको छ । सुधा कोङ्गराको लेखन र निर्देशनमा तयार भएको फिल्ममा अक्षयसँगै राधिका मदन, परेश रावल, सीमा विश्वास लगायतको पनि अभिनय रहेको छ भने तमिल सुपरस्टार सूर्याले केमियो अपिरियन्स गरेका छन् ।