मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकनमै लाग्यो ३६ दिन

फिल्मीखबर, काठमाडौं, 2024/07/14

purna bahadur ko sarangi

 

अक्सर नेपाली फिल्मको छायांकन एक महिना अर्थात् ३० दिनभित्रमा सकिन्छ । कति फिल्मलाई यो समय पनि लाग्दैन । तर, ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्मको पहिलो चरणको छायांकनमा मात्र ३६ दिन लागेको छ । यसै साता ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा फिल्मको पहिलो चरणको छायांकन पूरा गरिएको हो । अब अन्तिम चरणको छायांकन एक सातापछि काठमाडौंमा सुरु गरिँदैछ ।

फिल्मको पहिलो चरणको छायांकन पूरा भएसँगै उत्साहित देखिएका निर्माता विनोद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ दर्शकहरुका लागि विशेष हुने दाबी गरे । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले कुनै कुराको कमी हुन नदिइ हामीले भनेको समयमा नै छायांकन गर्न पाइयो । फिल्म मेकिङबारे नयाँ अनुभव पनि भयो । यसैले फिल्मले हामी सबैलाई नयाँ उचाइँ दिनेमा विश्वस्त छौं,’ उनले भने ।

फिल्ममा कलाकारहरुको ‘लाइनअप’ बलियो छ । माओत्से गुरुङ, देशभक्त खनाल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल, विजय बराल, भोलाराज सापकोटा, बुद्धि तामाङ, विनोद न्यौपाने, जान्भि पौडेल, स्वायम् केसी आदिको अभिनय रहेको फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्ममा पटकथा र संवाद लेखन महेश दवाडीको छ ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टको निर्माण रहेको फिल्मले गन्धर्व परिवारको कथा उठान गरेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । निर्माण टिमले फिल्मलाई आगामी वर्ष अर्थात् २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।