कुनै बेला ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ गरी चार फिल्म बनाएका शंकर घिमिरेले १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि भदौ २९ गते आउने निश्चित भएको यो फिल्म अब आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुनेछ । आइतबार ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।
पोस्टरमा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा छन् । वृद्ध र जवान गरी दुई लुक्समा देखिएका उनी बाबु र छोराको भूमिकामा हुनसक्ने अनुमान गर्न सकिन्छ । उनीसँगै अभिनेत्री वर्षा राउत गम्भीर भावमा प्रस्तुत छिन् । पोस्टरको तल्लो भागमा भने अभिनेत्री पूजा चन्द अमेरिकी प्रहरीको साथमा हतकडीसहित देखिएकी छन् । र, उनको साथमा अभिनेत्री ऋचा घिमिरे पनि देखिएकी छन् ।
फिल्मको ७० प्रतिशत छायांकन गत बैशाख र जेठमा अमेरिकामा भइसकेका छ । अब बाँकी प्रतिशत छायांकन सोमबारदेखि पूर्वी चितवनमा सुरु गरिएको छ । बुद्धि तामाङको पनि विशेष भूमिका रहेको फिल्मको एक गीतमा अभिनेता सुशील क्षेत्रीले नृत्य गरेका छन् । तेल भिसामा आफ्ना आमा-बुबालाई अमेरिका बोलाउने सन्तानको कथा यो फिल्मले उठाएको हुनसक्ने शीर्षकले बुझाउँछ ।
वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको संयुक्त लगानी छ । प्रिन्स युवराज कार्की र श्रृति दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ भने रामजी लामिछाने र शिशिर खातीको नृत्य निर्देशन एवं आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत रहनेछ । अजय खड्काले सम्पादन गर्नेछन् ।