दर्शकमाझ उत्तिधेरै परिचित अभिनेता होइनन्, पृथ्वीराज प्रसाईं । तर, उनको नाममा ‘किस्मत २’ र ‘मंगलम’ गरी दुई सफल फिल्म छन् । संख्यामा भने उनको आधा दर्जन फिल्म पुगिसकेको छ । तर, सन् २०१८ मा प्रदर्शन भएको ‘डोली’पछि उनी कुनै फिल्ममा देखिएनन् । ५ वर्षपछि उनले फिल्म ‘ईश्वर’बाट कमब्याक गरेका छन्, जुन यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्ममा पृथ्वीराज सागर पात्रको भूमिकामा छन् । आफ्नो पात्रलाई लभर ब्वाई भन्न रुचाउँछन्, उनी । ‘सागर एक लभर ब्वाई हो । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि ऊ सुध्रिन्छ’, उनी भन्छन्, ‘यो पारिवारिक कथामा बनेको फिल्म हो । म सहरबाट गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै हुँदा अनु शाहसँग मेरो प्रेम बसेको हुन्छ ।’
यसअघि अनुसँग पृथ्वीराजले केही म्यूजिक भिडियोमा काम गरिसकेका थिए । यसैले सहज रुपमै काम भएको उनको अनुभव छ । फिल्ममा काम गर्न पनि उनलाई त्यत्ति गाह्रो भएन । न त खासै मिहिनेत गर्नुपर्यो । ‘यस्तो क्यारेक्टर यसअघि मैले फिल्ममा गरेको थिइनँ । तर, क्यारेक्टरको लागि तयारी पनि त्यस्तो गरिएन । स्क्रिप्ट पढेपछि सिधै फ्लोरमा गएर काम गरियो’, पृथ्वीराज सम्झन्छन् ।
५ वर्षअघि ‘डोली’मा काम गरेपछि आफूलाई फिल्मबाट अफर नै नआएको उनी निर्धक्क बताउँछन् । ‘म काम माग्न पनि कतै गइनँ । आफ्नै घर, व्यावसायमा व्यस्त थिएँ । जिममा समय विताएँ । तर, अफर आयो भने फिल्म गर्छु भन्ने चाहिँ सोच थियो । ‘ईश्वर’बाट प्रस्ताव आएपछि काम गरेँ’, उनले भने । एक्सन र रोमान्टिक भूमिकामा काम गरिसकेका उनलाई अब कमेडी फिल्म गर्न मन छ ।