संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खुस्मा’को पहिलो रोमान्टिक गीत ‘खुशीका फूल बटुलेर’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको संयुक्त गायन रहेको छ भने राम अविरल विष्टको शब्द रचना तथा गायक योगी स्वयंले संगीत भरेका छन् । गीत कर्णप्रिय सुनिन्छ ।
सुरेन्द्र राईको कोरियोग्राफीमा तयार भएको गीतमा फिल्मका मुख्य अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतमा उनीहरुबीच फक्रिएको प्रेम देखाइएको छ । र, दुवैको केमेस्ट्री सुहाएको छ । गीतमा पूर्वी रुकुमका सुन्दर दृश्यहरु कैद छन् । निर्देशक तथा लेखक अशोक थापामगरले फिल्ममा यो गीतलाई कथावाचनको रुपमा समावेश गरिएको बताएका छन् ।
मगर समुदायको पृष्ठभूमिमा बनेको फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजता राई, राज थापा काउचा, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापा मगर, सारा राई, विवेश मगर, दुईसाङ थिङ, श्वेता मिश्र, अरुण पुन मगर आदिको अभिनय छ । द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित भएर फिल्म बनेको जनाइएको छ ।
फिल्मको निर्माताहरुमा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् भने सह-निर्माताहरु मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्मातामा छन् । गोविन्द शाहीले वितरण गर्न लागेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्कको संगीत तथा सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगर स्वयंको शब्द रचना छ ।