गत वर्ष सर्वाधिक फिल्म रिलिजको ‘रेकर्ड’ अभिनेता दयाहाङ राईको नाम रह्यो । कूल ९ वटा फिल्म प्रदर्शन भएका थिए । लगभग यही संख्यामा छायांकन पनि गरे । तर, फिल्मको संख्यात्मक वृद्धिले दर्शक भड्किने अवस्था आएपछि उनले गत चैतदेखि न नयाँ फिल्म साइन गरे न छायांकनमा जोडिए । बरु यो बीचमा प्रदर्शन भएका आफ्ना फिल्मको प्रचारमा समय दिए । विदेश पनि घुमे ।
उनले पछिल्लोपटक छायांकन गरेको फिल्म ‘घरज्वाइँ’ हो, जुन गत चैत ४ गते ‘प्याकअप’ भएको थियो । अहिले यही फिल्म हलमा प्रदर्शनरत छ । करिब ४ महिनाको विश्रामपछि उनी अब छायांकनमा फर्किँदैछन् । उनको मुख्य भूमिका रहने फिल्म ‘कार्साङ’को यसै साताबाट छायांकन गर्ने तयारी भइरहेको छ । र, यसका लागि दयाहाङ ‘घरज्वाइँ’ प्रदर्शन भएसँगै वर्कसपमा जोडिएका छन् ।
यतिबेला कान्तिपुर फिल्म एकेडेमीमा स्क्रिप्ट र चरित्रको बारेमा छलफल भइरहेको निर्देशक यम शेर्पाले जानकारी दिए । वर्कसपमा दयाहाङसहित पुष्कर गुरुङ, सरिता गिरी, छिरिङ शेर्पा लगायतका कलाकारहरु छन् भने छायाँकारदेखि प्रोडक्सन म्यानेजरसम्म सहभागी छन् । वर्कसप सकिएपछि बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा फिल्मको छायांकन गरिने जनाइएको छ ।
फिल्ममा जितु नेपाल, दीया मास्के, सृजना निङ्लेकु, बुद्धि तामाङ, छिरिङ शेर्पा, माओत्से गुरुङ, पुसम्राट क्षेत्री, राशी लिम्बु, कर्मा शेर्पा, सोहन थापा, छोकी शेर्पा, पवन गोले लगायतको पनि अभिनय रहनेछ । निर्देशक शेर्पाकै लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । उनी निर्माता समेत हुन् । गोविन्द बोहरा सह-निर्माता र आङछिरिङ शेर्पा कार्यकारी निर्मातामा छन् ।