अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहले पहिलोपटक सहकार्य गरेको फिल्म ‘ज्वाइँ साब’को छायांकन ३० दिनमा पूरा भएको छ । २३ दिन चित्लाङ र ७ दिन चितवनमा छायांकन गरेपछि फिल्म ‘प्याकअप’ भएको निर्देशक वसन्त निरौलाले जानकारी दिए । फिल्मको पोस्ट प्रडक्सनको काम पनि सुरु भइसकेको छ । यस वर्षको तिहारमा फिल्मलाई प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।
फिल्ममा जितु र नीतिसहित शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, कविता आले, बुद्दि तामाङ, शिवहरि बैरागी, राजेन्द्र नेपाली, हिमेश पन्त, निमा पाण्डे लगायतको अभिनय छ । जितु र नीतिको जोडी बाँधिएकाले फिल्म रोचक हुनसक्ने देखिन्छ । तर, छायांकन सकिए पनि उनीहरुको ‘लुक्स’ लुकाएर राखिएको छ । एकैचोटी क्यारेक्टर पोस्टरबाट सार्वजनिक गरिने जनाइएको छ ।
रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्य गरेको फिल्ममा राजकुमार पण्डित प्रस्तुतकर्ता एवं सौगात पण्डित, मिनादेवी पाण्डे र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, सविन अधिकारीको कथा एवं शंकर धितालको पटकथा र संवाद लेखन छ ।