अभिनेता भुवन केसीको फिल्मी करिअर जति सफल छ, उत्तिकै विवादित पनि छ । उनको विवादको श्रृंखला चलचित्र विकास बोर्ड पुग्दा पनि रोकिएन । उनका एकपछि अर्को निर्णयहरु विवादमा तानिएका छन् । जसले गर्दा उनको कार्यकाल बोर्डकै इतिहासमा विर्सनलायक बनेको छ । अब यही साउन ९ गतेबाट उनको २ वर्षे कार्यकाल सकिँदैछ । र, उनको विदाई पनि विवादबाटै हुँदैछ ।
भुवनले आफ्नो कार्यकालको पूर्वसन्ध्यामा फिल्म क्षेत्रको ‘न्वारन’ गर्न खोजेका थिए । तर, त्यसको सर्वत्र विरोध भएपछि उनी रोकिन पुगे । अब बोर्डबाट विदा हुनै लाग्दा उनको अर्को निर्णय विवादित बनेको छ । राष्ट्रिय चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मानका लागि निर्णायक (जुरी) छनोट गर्न ३५ जना ‘विज्ञ’को नाम सार्वजनिक गरिएपछि सम्बन्धित फिल्मकर्मीले नै आपत्ति जनाएका छन् ।
३५ जना विज्ञमा बसुन्धरा भुषालदेखि केकी अधिकारीसम्मको नाम छ । यसमध्ये निर्देशक एवं समालोचक प्रकाश सायमीले आफ्नो नाम विज्ञमा राखेकोमा आपत्ति जनाएका छन् । आफूले कुनै राजनीतिक पार्टीको समर्थक एवं कार्यकर्ता चयन गर्ने चलचित्र विकास बोर्डको कुनै पदमा आजीवन नबस्ने निर्णय गरेको बताउँदै उनले बोर्डले आफ्नो अनुमति विना विज्ञमा नाम राखेको जनाएका छन् ।
उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘केही समयदेखि राजनीतिक पार्टीले आफ्ना समर्थक वा कार्यकर्ता चयन गर्दै आएको चलचित्र विकास बोर्डमा कुनै पदमा रहन चाहन्नँ भन्दै आएको दशकौँ भैसक्यो । यस अवस्थामा मेरो अनुमति विना चलचित्र विकास बोर्डले चलचित्रविज्ञ सदस्यको रुपमा नियुक्त गरेकोमा मेरो घोर आपत्ति छ । समाचारमा यो खबर देखेर स्तब्ध भएको छु ।’
बोर्ड फेरि एमाले सरकारको मातहतमा गएकाले शाखा अधिकृत सरहको पदमा पार्टीको निर्देशनमा साउन ९ गतेपछि कुनै पार्टीका कार्यकर्ता नियुक्ति हुनेमा विश्वास व्यक्त गर्दै निर्देशक सायमीले त्यसका लागि सरकारलाई व्यंग्यात्मक रुपमा धन्यवाद समेत भनेका छन् । उनले आफू आजीवन कुनै प्राज्ञ, कुलपति एवं उपकुलपति जस्तो राजनीतिक भर्ति केन्द्रमा पनि नरहने घोषणा गरेका छन् ।
बोर्डले सार्वजनिक गरेको विज्ञको नामप्रति सम्बन्धित व्यक्तिले नै आपत्ति जनाउन थालेपछि बोर्ड सदस्य केएल बुढाथोकी बचाउमा उत्रिएका छन् । बोर्डको विवादित निर्णयको विषयमा एक पत्रकारले लेखेको स्टाटसमा कमेन्ट गर्दै उनले जुरी छनोट गर्नुभन्दा अघि विज्ञहरुको सूची तयार गर्नु राम्रो रहेको जनाएका छन् । विज्ञहरुको सूचीबारे खुल्ला रुपमा विचार/विमर्श गर्न केएलको आग्रह छ ।