पर्वत जिल्लाको मोदीबेनीमा घटेको अविश्वसनीय घटनामा आधारित भएर बनेको फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमा हलमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुलाई लिएर महत्त्वपूर्ण प्रकाश पारेको छ । द्वन्द्व, प्रेम, कमेडी, वेदना र पारिवारिक कथा समेटिएको ट्रेलरले थ्रिल पनि महसुस गराउँछ ।
ट्रेलरको सुरुवातमा एउटा घरको भर्याङबाट बाँसमा कात्रोले बाँधिएको शव झरेको दृश्यले डर पैदा गराउँछ । र, अन्तिममा वर्षाको रौद्र रुपले चकित तुल्याउँछ । बाँकी दृश्यमा भने उनी शान्त, सरल र रोमान्टिक भावमा देखिएकी छन् । ट्रेलरले एउटा रहस्य पनि खुलाएको छ । कुनै समय हिरोइन भएर कयैन् फिल्ममा अभिनय गरेकी रेजिना उप्रेती वर्षाकी आमाको भूमिकामा देखिएकी छन् ।
यही साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई शङ्कर कोइरालाले निर्देशन गरेका हुन् । यसमा सरोज खनाल, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, हिउँवाला गौतम, सरोज अर्याल, गोविन्द सुनार, पूजन श्रेष्ठ, स्नेहा भट्टराई, लविस गर्तौला, सुब्रतराज आचार्य, अनामिका लामिछाने, शेरबहादुर बराल, रोजी श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।
आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका निर्माता दीलिप केसी र सह-निर्माता हरि श्रेष्ठ हुन् । यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। फिल्मका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर छ । फिल्मलाई काभ्रे र मोदीबेनीमा खिचिएको हो ।