यतिबेला नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ । हलिउड र बलिउडसहित करिब ६ वटा फिल्म प्रदर्शन भैरहेका छन् भने नेपाली एउटा मात्र छ । अब भोलि शुक्रबार (साउन ४ गते) बाट अर्को आशातित बलिउड फिल्म थपिँदैछ, ‘ब्याड न्यूज’ । सन् २०१९ मा आएको सफल फिल्म ‘गुड न्यूज’को फ्रेन्चाइज भएकाले यसले नेपालमा पनि राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
टि-फल्क कम्पनीले नेपाल भित्राएको ‘ब्याड न्यूज’को मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ला भैसकेको छ । र, फिल्मलाई उल्लेख्य शोज उपलब्ध गराइएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र काठमाडौंका ७ वटा हलमा ३२ शोज तथा मोफसलका ९ वटा हलमा ४२ शोज गरी ७४ शोज दिएको छ । यसले पनि यो फिल्मप्रति हल व्यवसायीहरुले ठूलो अपेक्षा राखेको बुझ्न सकिन्छ ।
आनन्द तिवारीको निर्देशनमा तयार भएको ‘ब्याड न्यूज’को ट्रेलर र ‘तौबा तौबा’ गीत रिलिज भएपछि भारतमा ठूलो ‘हाइप’ बनेकाले ८ देखि ९ करोड हाराहारीको ओपनिङ गर्न सक्ने भारतीय मिडियाले प्रक्षेपण गरेका छन् । एड्भान्स बुकिङबाटै बिहीबार दिउँसो १ बजेसम्म फिल्मले ४३ हजार टिकट बिक्री गर्दै १ करोड २० लाखको व्यापार गरिसकेको इन्डिया टूडेले समाचारमा जनाएको छ ।
फिल्ममा विक्की कौशल, तृप्ति डिमरी, ऐमी विर्क, नेहा धुपिया, अनन्या पाण्डे, सान्या मल्होत्राको अभिनय छ । करण जोहर, अपुर्व मेहता, हिरो यश जोहर, अमृतपाल सिंह बिन्द्रा र आनन्द तिवारीको निर्माण रहेको फिल्मले हेटेरोपेट्रनल सुपरफेकुलेशनको कथा उठाएको छ । यसको मतलब प्रजनन प्रक्रियामा जुम्ल्याहा बच्चाहरु एउटै आमाबाट जन्मन्छन् तर बुबा चाहिँ अलग-अलग हुन्छन् ।