मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षको हैसियतमा विदेश भ्रमण गर्नेमा भुवनको ‘रेकर्ड’

फिल्मीखबर, काठमाडौं, 2024/07/19

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको यही साउन ९ गते २ वर्ष पूरा हुँदैछ । र, यही मितिबाट उनी विदा हुँदैछन् । बोर्ड अध्यक्ष नियुक्त भएपछि उनले पटक-पटक एउटा कुरा भन्दै आएका थिए, ‘म जागिर खान आएको होइन ।’ तर, उनको कार्यकाल हेर्ने हो भने जागिर खानबाहेक अरु उपलब्धि नै देखिएको छैन । बरु विवादमा उनले ‘रेकर्ड’ कायम गरे ।

विवादित कम्पनीलाई दुबईमा फेस्टिभल गर्न दिएको विषय होस् या राष्ट्रिय चलचित्र पुरस्कारमा प्रमुख विधा नै गायब बनाएर अवार्ड वितरण गरिएको विषय होस्, २ वर्षे कार्यकालमा उनको नाममा यस्ता थुप्रै विवादहरु छन् । बोर्डबाट विदा हुँदै गर्दा फिल्म क्षेत्रको नामाकरण गर्न खोजेको प्रयासले पनि उनको कार्यकाललाई बोर्डकै इतिहासमा सबैभन्दा बढी विवादित बनाउन ठूलो मद्दत गर्‍यो ।

 

Bhuwan Kc


उनले आफ्नो कार्यकालमा विवादमा ‘रेकर्ड’ मात्र बनाएनन्, विदेशी भ्रमण गर्नेमा पनि ‘रेकर्ड’ बनेको छ । २ वर्षको अवधिमा उनले बोर्ड अध्यक्षको हैसियतमा मात्र ६ पटक विदेश भ्रमण गरेको भेटिन्छ । कहिले अवार्डको नाममा त कहिले फेस्टिभलको नाममा । बोर्डकै खर्चमा फिल्म फेस्टिभल आयोजना गर्न समेत भुवनले विदेशी भूमि रोजेका थिए । यसले पनि उनको विदेश मोह दर्शाउँछ ।

२०७९ फागुनमा बोर्डको आयोजनामा दुबईमा गरिएको ‘सिनेमा फेस्ट’ भुवनले अध्यक्षको हैसियतमा सहभागिता जनाएको सम्भवतः पहिलो विदेश यात्रा थियो । यसपछि उनी २०८० साउनमा प्रेमिका जिया केसी तथा छोरा अनमोल केसी (अभिनेता)को साथमा छैठौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुनलाई अमेरिका पुगेका थिए । ‘सिनेमा फेस्ट’मा पनि जिया र अनमोल सहभागी थिए ।

२०८० मंसिरमा भारतको गोवामा आयोजित ‘फिल्म बजार’मा पनि भुवनले बोर्ड अध्यक्षको हैसियतमा उपस्थिति जनाए । गत जेठमा एउटा भारतीय अवार्डका लागि उनी फेरि भारत पुगेका थिए । तर, उनको यो भ्रमण अध्यक्षको हैसियतमा नभइ सेलिब्रेटीको रुपमा थियो । त्यस्तै, २०८० असोजमा एउटा उद्घाटनका लागि उनी अध्यक्षको रुपमा जियालाई साथमा लिएर माल्टा समेत पुगेका थिए ।

२०८० माघमा डेल्फिक काउन्सिलले बेलायतमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा पनि भुवन सहभागी भए । अब बोर्ड अध्यक्षको रुपमा उनी अन्तिमपटक एक फिल्म फेस्टिभलमा सहभागी हुन बिहीबार लण्डन पुगेका छन् । नेपाल फर्किँदा भने उनी पूर्व अध्यक्ष भइसक्नेछन् । यसरी हेर्दा भुवनको कार्यकाल नै विदेश भ्रमणमय भएको देखिन्छ । तर, काम भने प्रायः विवादित रहे ।