नेपालमा सबैभन्दा बढी फिल्म बनाउने निर्देशकको रुपमा चिनिन्छन्, राजु गिरी । उनले डेढ दशकको अवधिमा लगभग दुई दर्जन फिल्मको निर्देशन गरिसकेका छन् । यही साउनमा मात्र उनका दुई फिल्म दुई हप्ताको अन्तरमा रिलिज हुँदैछन् । त्यसमध्ये ‘ईश्वर’ साउन ११ गते र ‘नम्बरी सुन’ साउन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछन् । र, यी दुवै फिल्म ग्रामीण कथामा बनेका हुन् ।
दुवै फिल्मको एकसाथ प्रचार गरिरहेका निर्देशक गिरी आफ्नो करिअरकै फरक कन्टेन्ट ‘ईश्वर’मा रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार र समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा फिल्ममा छ । ईश्वर फिल्मको प्रमुख पात्र जस्तो मान्छे प्रत्येक गाउँमा जन्मनुपर्छ । त्यस्तो मान्छे जन्मियो भने मात्र देशको विकास हुन्छ भन्ने सन्देश फिल्मले दिएको छ ।’
निर्देशक गिरीका अनुसार, एउटा इमानदार प्रहरीलाई राजनीतिको आडमा कसरी हटाउन बाध्य पारिन्छ भन्ने फिल्मले देखाउनेछ । ‘एउटा इमानदार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य फिल्ममा छ,’ राजु भन्छन्, ‘जागिर छोडेपछि ईश्वर पात्रले गाउँमा बर्दी बिनाको प्रहरीको काम गर्छ । उसले भ्रष्टचारी र घुसखोरीको विनाश गर्छ ।’
गिरीलाई ‘ईश्वर’ हरेक जनता र नेताले हेर्नुपर्छ भन्ने लाग्छ । ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि पनि फिल्म हेर्नुपर्छ । मलाई यस्तो कन्टेन्टमा फिल्म बनाउन सकें भनेर सधैं गर्व महसुस भइरहनेछ,’ उनले भने । फिल्मले देश बनाउने निकायमा हुने भ्रष्टाचारलाई अन्त्य गर्न एवं समाज रुपान्तरण गर्न ठूलो सन्देश दिन्छ भन्ने राजुको विश्वास छ । यो फिल्मको कथा उनी स्वयंको हो ।