करिब १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेका शंकर घिमिरेले आफ्नो ५ औं फिल्म ‘तेल भिसा’को छायांकन सकाएका छन् । दुई चरणमा गरी ३५ दिनमा फिल्म ‘प्याकअप’ भएको हो । शनिबार चितवनको एक गाउँमा अन्तिम दृश्य खिचिएको थियो । फिल्मको पहिलो चरणको छायांकन भने अमेरिकामा गरिएको थियो । त्यहाँ ७० प्रतिशत छायांकन गरिएपछि बाँकी नेपालमा खिचिएको हो ।
इन्डक्ल्यापमा भरतपुर महानगरकी मेयर रेणु दाहाल समेत पुगेकी थिइन् । उनले फिल्मका निर्देशक, कलाकार तथा प्राविधिकलाई एकसिंगे गैंडाको प्रतिमा उपहार दिएकी थिइन् । फिल्म हेर्न उत्सुक रहेको पनि उनको भनाई थियो । पहिलोपटक फिल्मको सुटिङ हेरेको बताउँदै उनले ‘भिजिट भरतपुर २०२४’ अभियानलाई प्रवर्द्धन गर्न ‘तेल भिसा’ले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
फिल्ममा अभिनेता विपिन कार्की प्रमुख भूमिकामा छन् । वृद्ध र जवान अर्थात् बुबा र छोरा गरी उनको दोहोरो भूमिका छ । उनको जवान भूमिकामा अभिनेत्री वर्षा राउत श्रीमती बनेकी छिन् भने वृद्ध भूमिकामा अभिनेत्री पूजा चन्दले श्रीमती भएर अभिनय गरेको बुझिएको छ । झन्डै एक दशकपछि अभिनयमा फर्किएकी अभिनेत्री ऋचा घिमिरेले फिल्ममा वकिलको भूमिकामा निभाएकी छन् ।
वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । श्रुती दाहाल र प्रिन्स युवराज कार्की कार्यकारी निर्माता रहेको ‘तेल भिसा’लाई सुशन प्रजापतिले खिचेका हुन् । अजय खड्काको सम्पादन रहने फिल्ममा रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी तथा आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत छ ।