‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारहरुको ‘लाइनअप’ रोचक बन्दैछ । केही दिनअघि फिल्मको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए । अब अर्का अभिनेता निश्चत बस्नेतको पनि अभिनय रहने निश्चित भएको छ । निर्माण टिमले खगेन्द्र र निश्चलसँग एकैदिन कागजी सम्झौता गरेको थियो ।
आगामी साउन २५ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्मका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुबन्ध गरिने निर्देशक खनालले जानकारी दिए । उपन्यासकार बुद्धिसागरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा बन्न लागेको ‘के घर के डेरा २’लाई काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो । त्यतिबेला यो फिल्म ‘सेमी हिट’ भएको थियो ।