संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आउट लः दफा २१९’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट २७ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । ट्रेलर ‘एक्सन प्याक्ड’ छ ।
जेलबाट फरार ‘मोस्ट वान्टेड’ एक अपराधीलाई पक्राउ गर्न परिचालित प्रहरी र हतियारधारी समूहबीच मुठभेडको कथामा ट्रेलर केन्द्रित छ । र, अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन् । उनलाई ‘एक्सन स्टार’को उपाधि समेत दिइएको छ । उनले यही फिल्मबाट चार वर्षपछि पुनरागमन गरेका हुन् ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । अमित अग्रहरी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विनोद कठायत छन् । सह-निर्माता भने विकास चौधरी हुन् ।
निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।