गुरुङ भाषाका फिल्ममा अभिनय गर्दै आएकी अभिनेत्री कृष्टिन गुरुङ मूलधारको फिल्ममा पनि अगाडि बढिरहेकी छन् । अघिल्लो वर्ष आएको ‘दयारानी’मा छोटो भूमिकामा देखिएकी उनले अब यही साउन ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ईश्वर’मा मुख्य भूमिकामा अभिनय गरेकी छन् । उनी यो फिल्ममा निर्माता ध्रुव थापा र अभिनेता माओत्से गुरुङका कारण जोडिन पुगेकी थिइन् ।
‘उहाँहरुले फिल्मका लागि मंगोलियन अनुहार खोजिरहनुभएको रहेछ । उहाँहरुसँग भेट भएपछि कथा र चरित्रले आकर्षित गर्यो । यसैले फिल्ममा जोडिएँ’, उनी भन्छिन् । गुरुङ फिल्ममा प्रायः ग्रामीण चरित्र निर्वाह गर्दै आइरहेकी उनले ‘ईश्वर’मा पनि त्यसलाई नै निरन्तरता दिएकी छन् । फिल्ममा उनको पात्रको नाम मिनु छ, जो पेशाले शिक्षिका हुन्छिन् । उनी आफ्नो चरित्रबाट सन्तुष्ट छिन् ।
कृष्टिनलाई मिनु चरित्र निभाउन भने चुनौती महसुस भएको रहेछ । ‘म सानो क्यारेक्टरबाट आएकी हुँ । सुरुदेखि नै ठूलो क्यारेक्टर गर्दै आइरहेको भए चुनौती महसुस हुन्न थियो होला । तर, ‘ईश्वर’मा केही चुनौती चाहिँ भयो’, उनको अनुभव छ । गाउँले विषयवस्तु मन पराउने गरेकी कृष्टिनलाई मोर्डन क्यारेक्टरमा आफू फिट हुन्न भन्ने लाग्छ । यसैले उनको रोजाईमा पनि गाम्रीण चरित्र नै पर्छ ।
कृष्टिनलाई ‘ईश्वर’प्रति ठूलो आशा र अपेक्षा छ । ‘म यो फिल्मबाट एकदमै आशावादी छु । अहिले यसैमा ध्यान छ । अरु फिल्मको लागि मैले कुरा पनि गरेकी छैन । ‘ईश्वर’बाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरु फिल्म गर्ने या नगर्ने भन्ने निर्णय लिनेछु,’ उनी भन्छिन् । अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा उनको जोडीको रुपमा अभिनेता तथा निर्माता ध्रुव थापा छन् ।