अभिनेत्री वर्षा सिवाकोटीका लागि यस वर्ष विशेष बन्दैछ । यही साउन १८ गते उनको नयाँ फिल्म ‘मोदीबेनी’ र दशैंको फूलपातीमा ‘छक्का पञ्जा ५’ गरी दुईवटा फिल्म प्रदर्शनमा आउँदैछन् । यसमध्ये ‘मोदीबेनी’लाई लिएर उनी बढी नै दबाबमा छिन् । किनकि, यो फिल्म चलाउनुपर्ने सबैभन्दा ठूलो जिम्मेवारी उनकै काँधमा छ । यसैले हुनसक्छ, उनले प्रचारमा राम्रै सक्रियता देखाइरहेकी छन् ।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा भइरहेको कोटीहोम महायज्ञमा पनि वर्षा सहभागी भएकी छन् । आइतबार उनीसहित ‘मोदीबेनी’का कलाकारहरु अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री र निर्माता हरि श्रेष्ठले महायज्ञमा उपस्थिति जनाएका थिए । उनीहरुलाई पञ्चेबाजा र नाचगानासहित महायज्ञ स्थल पुर्याइएको थियो ।
महायज्ञमा ‘मोदीबेनी’का लागि आशीर्वाद मागेकी वर्षाले भक्ति भावले जीवन सुन्दर हुने बताइन् । उनी चर्चित कथावाचिका राधिका दासको जीवन सङ्घर्ष तथा जीवन दर्शनको विचारहरूबाट निकै प्रभावित रहेछिन् । उनै राधिकाबाट पहिलोपटक प्रत्यक्ष कथावाचन सुन्न पाउँदा उनी हर्षित देखिइन् । गत वर्ष फिल्म ‘परदेशी २’ रिलिजको समयमा पनि उनी एक सप्ताहमा सहभागी भएकी थिइन् ।
‘खुपीका बाउ’को रुपमा दर्शकमाझ चिनिएका कमलमणि नेपालले महायज्ञमा उपस्थितलाई सम्बोधन गर्दै आफूले अभिनय गरेको ‘मोदीबेनी’का लागि आशीर्वाद लिन आएको बताए । उक्त अवसरमा उनले एक भजन गाउँदै उपस्थितलाई भक्ति भावमा झुमाए । महायज्ञमा सहभागी अभिनेता श्रेष्ठले आफूले पहिलोपटक अभिनय गरेको फिल्मलाई सफल बनाउन प्रार्थना गरेको प्रतिक्रिया दिए ।
शङ्कर कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दीलिप केसी, जीवन भट्टराई, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, हिउँवाला गौतम, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल लगायतको पनि अभिनय रहेको छ । यो फिल्ममा दीलिप केसी निर्माताको रुपमा छन् भने हरि श्रेष्ठ सह-निर्माता हुन् ।