यही साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक लगभग तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । दशकौंअघि गाउँ-गाउँमा पुगेर सुन बनाउने सुनार जातिको कथासँगै प्रेममा जातीय र वर्गीय विभेदले निम्त्याएको घटनालाई ट्रेलरमा देखाइएको छ ।
अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाबीच बाल्यकालदेखि प्रेम बसेको छ । तर, गौरव सुन बनाउने सुनारका छोरा हुन् । आर्थिक हैसियत पनि राम्रो छैन । नम्रता भने सम्भ्रान्त र कथित माथिल्लो जातकी हुन् । बाल्यकालमा छुटिएका उनीहरु जब ठूलो भएपछि भेटिन्छन्, त्यसपछि उत्पन्न परिस्थितिमा ट्रेलर केन्द्रित छ । अभिनेता सरोज खनाल मुखियाको भूमिकामा देखिएका छन् ।
राजु गिरीको निर्देशनमा तयार भएको फिल्ममा गौरव, नम्रता र सरोजसहित राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी आदिको पनि अभिनय छ । कलाकार नारायण खाती स्वयं प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।
यसमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व तथा गौतमराज खड्काको सम्पादन छ । निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई ‘सुन उपहार’ दिने घोषणा समेत गरिसकेको छ ।