यो वर्षको ‘स्योर सट’ सुपरहिट फिल्म हो, ‘छक्का पञ्जा ५’ । दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको छायांकन पनि पूरा भइसकेको छ । तर, अहिलेसम्म कलाकारमा तीनजनाको मात्र नाम बाहिर आएको छ । दीपकराज गिरी, वर्षा सिवाकोटी र केदार घिमिरेबाहेक अरुको नाम गोप्य नै राखिएको छ । तर, फिल्म क्षेत्रमा कुनै कुरा गोप्य रहन सक्दैन ।
‘छक्का पञ्जा ५’मा विशेष भूमिका निभाएका एक अभिनेताको नाम ‘फिल्मीखबर’लाई प्राप्त भएको छ । तिनी हुन्, आर्यन सिग्देल । फिल्ममा उनको केमियो भूमिका मात्र रहेको निकट स्रोतले जनाएको छ । ‘छक्का पञ्जा’मा जस्तै निर्माण टिमले उनको नाम फिल्म प्रदर्शनमा नआउँदासम्म गोप्य राख्न खोजेको थियो । टिमभित्रका कुनै पनि सदस्यलाई यसको खुलासा गर्न अनुमति दिइएको छैन ।
फिल्मीखबरले आर्यनको बारेमा सोध्दा फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले नकार्न सकेनन् । बरु उनले समाचारका लागि रिलिजसम्म कुरिदिन आग्रह गरे । ‘छक्का पञ्जा ५’मा ४/५ जना ‘स्टार’ कलाकारको अभिनय रहेको समेत दीपकले खुलासा गरेका छन् । तर, त्यो फिल्म रिलिजपछि मात्रै थाहा हुने उनले बताए । यसमा ‘प्रेमगञ्ज’का अभिनेता तेज गिरीको पनि अभिनय छ ।
फिल्ममा कुनै ‘स्टार’ कलाकारको विशेष भूमिका छ भने त्यसलाई रिलिजसम्म लुकाउने विश्वव्यापी ट्रेन्ड छ । यो जुक्तिले व्यापारमा समेत ठूलो फाइदा पुग्छ । बलिउडमा ‘पठान’ यसको उदाहरण हो । ‘छक्का पञ्जा’ समूहले पनि दर्शकलाई ‘सरप्राइज’ दिन यो ट्रेन्ड पछ्याउँदै आइरहेको छ । तर, यसपटक सफल हुन सकेन । यद्यपि, अझै केही कलाकारको नाम निर्माण टिमले गोप्य राखेको छ ।