गत वर्ष आएको फिल्म ‘अगस्त्य’ले सौरभ चौधरीलाई निर्देशनमा स्थापित गरिदिएको छ । फिल्मले ठूलो सफलता हासिल नगरे पनि उनको निर्देशकीय क्षमता र मिहिनेतको प्रशंसा भएको थियो । यसपछि उनको करिअर नै चम्किएको छ । अहिले उनको हातभरि फिल्म छ । उनले चारवटा फिल्म सम्झौता गरिसकेका छन् । त्यसमध्येको एक हो, ‘कर्मा’ । जसको बिहीबार घोषणा गरिएको छ ।
थिम पोस्टरमार्फत् घोषणा गरिएको फिल्म एक्सन कथामा बन्ने जनाइएको छ । पोस्टरको पृष्ठभूमिमा लामबद्ध सौनिकहरु देखिन्छन् । फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा बसन्त लम्सालको लगानी रहनेछ । यतिबेला स्क्रिप्ट लेखन भैरहेको फिल्मका लागि चाँडै कलाकार छनोट गरिने निर्देशक चौधरीले बताए ।
‘लभ डायरिज’बाट निर्देशनमा डेब्यु गरेका सौरभको ‘कर्मा’ तेस्रो फिल्म हुनेछ । फिल्मको बारेमा उनी भन्छन्, ‘बजेटमै रहेर उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास रहनेछ । यो फिल्म एक्सन मात्रै होइन । एक्सन एउटा हिस्सा हो । यसको बलियो पक्ष भनेको स्क्रिप्ट हो । पटकथा एकदमै कसिलो छ ।’ उनले ‘अगस्त्य’मा भएको कमी-कमजोर सुधार गरेर ‘कर्मा’लाई उत्कृष्ट बनाउने दावी गरेका छन् ।
‘कर्मा’सहित सौरभको ‘पाइपलाइन’मा ‘शुक्र र शनि’, ‘यूनिभर्ससिटी अफ गुण्डाज्’ र ‘अगस्त्य २’ पनि छन् । सबैभन्दा अगाडि उनले ‘कर्मा’ गर्नेछन् । ‘अगस्त्य’ बनाउँदा उनी ‘डु अर डाई’को स्थितिमा थिए । अन्ततः यही फिल्म नै उनको करिअरको ‘टर्निङ पोइन्ट’ बन्यो । एक्सन फिल्म निर्देशनमा सौरभले राम्रो सम्भावना देखाएका छन् । अध्ययनको हिसाबले भने उनी सिभिल इन्जिनियर हुन् ।