मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ईश्वर’ हलमा, फिल्म सफल हुनुपर्ने दबाबमा अनु

फिल्मीखबर, काठमाडौं, 2024/07/26

Anu Shah

 

अभिनेत्री अनु शाहले झन्डै ५ वर्षपछि कमब्याक गरेको फिल्म ‘ईश्वर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । उनी यो फिल्म सफल हुनैपर्ने दबाबमा छिन् । किनकि, सन् २०१५ मा आएको ‘भैरव’पछि उनका एउटै फिल्म सफल छैनन् । जसले गर्दा उनको करिअर नै संकटग्रस्त अवस्थामा छ । ‘ईश्वर’ले व्यावसायिक सफलता हासिल गरेको खण्डमा उनलाई ठूलो राहत मिल्नेछ ।

मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको यो फिल्मलाई विदेशी फिल्महरु चुनौतीको रुपमा छन् । भारतका ‘कल्की’, ‘ब्याड न्यूज’ जस्ता फिल्मको हलमा दबदबा छ । शुक्रबारबाट तमिल सुपरस्टार धनुष अभिनीत फिल्म ‘रायन’ पनि थपिएको छ । जसले गर्दा ‘ईश्वर’ले ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यो अवस्थामा फिल्मलाई बलियो ‘माउथ पब्लिसिटी’ले मात्र हलमा टिकाइराख्न सक्छ ।

अन्तरजातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर कथावाचन गरिएको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । अनुसहित फिल्ममा सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाईं, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बाँस्तोला, युवराज गिरी लगायतको अभिनय छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा हरिबहादुर थापा छन् ।

निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ । ‘ईश्वर’सँगै शुक्रबारदेखि आरएल लामा मोक्तान निर्देशित फिल्म ‘ब्ल्याक छायाँ’ पनि हलमा लागेको छ ।