चलचित्र विकास बोर्डले डेढ वर्षदेखि स्वदेशी र विदेशी फिल्मको बक्सअफिस तथ्यांक सार्वजनिक गरेको छैन । जसले गर्दा निर्माता र वितरकबाट प्राप्त तथ्यांकलाई नै आधार मान्नुपर्ने अवस्था छ । तर, प्रायःले फिल्मलाई सफल देखाउन वास्तविक आँकडाभन्दा दोब्बर बढाएर समेत सार्वजनिक गरिरहेका छन् । बोर्डले बक्सअफिस रिपोर्ट लुकाएर राख्दासम्म यो प्रवृत्ति कायमै रहने देखिन्छ ।
गत असार २८ गतेदेखि प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’का निर्माताले पनि नियमित रुपमा वितरकबाट प्राप्त तथ्यांक सार्वजनिक गरिरहेका छन् । प्रदर्शनको दुई दिनमा नै १ करोड ५१ लाख कमाएको दावी गरिएको थियो । अब २ हप्तामा ४ करोड ६३ लाख पुगेको जनाइएको छ । र, नेपालबाटै लगानी उठेको निर्माताको दावी छ ।
बोर्डको बक्सअफिसमा पनि ‘घरज्वाइँ’को व्यापार ४ करोड ६३ लाख नै देखिएको रहेछ भने फिल्म सफल भएको छ । किनकि, यो फिल्ममा २ करोड हाराहारी लगानी भएको देखिन्छ । बक्सअफिसमा १ करोड कमाउँदा निर्मातालाई ४८ देखि ५० लाखसम्म शेयर आउँछ । यसरी हेर्दा निर्माताले घरेलु बजारबाटै लगानी उठाएको देखिन्छ । अब यसमा कति सत्यता भन्ने मात्र महत्त्वपूर्ण कुरा हो ।
‘घरज्वाइँ’ले केही दिन सुखद् व्यापार गरेको थियो । विशेषगरी आदिवासी जनजाति समुदायहरुले फिल्मलाई काँध थापेको देखिन्थ्यो । मगर समुदायको कथामा आधारित भएर फिल्म बनेकाले पनि यो समुदाय आकर्षित हुनु स्वभाविक हो । दयाहाङका यसअघिका फिल्म पनि यिनै समुदायहरुले सफल बनाएका थिए । ‘घरज्वाइँ’मा अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरको निर्माण छ ।