कुनै बेला अभिनेता अक्षय कुमारलाई बलिउडमा हिटको ग्यारेन्टी मानिन्थ्यो । उनका एकपछि अर्को फिल्म सफल भइरहेका थिए । जसले गर्दा पारिश्रमिक पनि दिनप्रतिदिन चर्किँदै थियो । तर, यतिबेला उनको करिअर नै संकटग्रस्त बनेको छ । उनले ठूलो आशा गरेका फिल्महरु एकपछि अर्को गर्दै बक्स अफिसमा पिटिरहेका छन् । ३ वर्षमा मात्र उनका करिब ९ वटा फिल्म ‘डिजास्टर’ बने ।
फिल्मको संख्या बढाउन जोड दिएकै कारण अक्षयको करिअर संकटमा पुगेको विश्लेषण भइरहेको छ । अब उनले संख्या घटाएर कन्टेन्टमा ध्यान दिनुपर्ने धेरैको सुझाव छ । तर पनि उनले काम गर्ने तरिका बदलेका छैनन् । वर्षमा ४/५ वटा फिल्ममा अझै पनि काम गरिरहेका छन् । रिलिज पनि त्यही संख्यामा भइरहेको छ । यस वर्ष उनको अझै तीनवटा फिल्म प्रदर्शनमा आउनै बाँकी छ ।
यतिबेला उनलाई वर्षमा एउटा मात्र फिल्म गर्न प्रशंसकहरुबाटै सुझाव आइरहेको छ । तर, उनी भने वर्षमा एउटा फिल्म गरेर अरु दिन के गर्नु भनेर प्रतिप्रश्न गर्छन् । हालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘ठीक छ, म वर्षमा एउटा मात्र फिल्म गर्छु तर, बाँकी दिन के गर्नु ? काम पाउनु भनेको राम्रो कुरा हो ।’ उनको यो तर्कले पनि उनी फिल्मको संख्या घटाउने पक्षमा नरहेको देखाउँछ ।
उनी अगाडि भन्छन्, ‘कसैले अरुका लागि यसले धेरै काम गर्छ भनेर भन्छ भने सम्झनुस् कि ऊ निकै भाग्यमानी हो, जसलाई काम मिलिरहेको छ । नभए यहाँ काम नै मिल्दैन । धेरै व्यक्तिहरु काम नपाएर बेरोजगार भएको सुन्नमा आउँछ । त्यसैले जसलाई काम मिलिरहेको छ, उसलाई गर्न दिनुस् ।’ अक्षयको पछिल्लो ब्लकबस्टर फिल्म ‘सूर्यवंशी’ हो, जुन सन् २०२१ मा रिलिज भएको थियो ।