यही साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’का दुई प्रमुख कलाकार वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले प्रचारका लागि कुनै प्रयास छाडेका छैनन् । केही दिनअघि ऐतिहासिक ‘पशुपति कोटिहोम महायज्ञ’मा सहभागी भएर फिल्म सफलताको आशीर्वाद मागेका थिए । शनिबार भने यो जोडीले बागमती नदीमा र्याफ्टिङ गर्दै फिल्मको प्रचार गर्यो ।
नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब तथा बागमती सफाइ महाअभियानको संयुक्त सहकार्यमा ‘बागमती नदी महोत्सव महाजल जात्रा’ अन्तर्गत र्याफ्टिङको शनिबार शुभारम्भ गरिएको थियो । सोही अवसरमा थापाथलीबाट चोभारसम्म वर्षा र अमरले र्याफ्टिङ गरेका थिए । वर्षाले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् । त्यस्तै, अमरले यो अभियानलाई सफल बनाउनुपर्ने बताए ।
बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्याफ्टिङको आयोजना हुने गरेको छ । आइतबारदेखि थापाथली पुलदेखि चोभारसम्म सर्वसाधारणले पनि र्याफ्टिङ गर्न पाउनेछन् । यसको लागि विद्यार्थीलाई पाँच सय र अन्यलाई नौ सय रुपैयाँ मूल्य तोकिएको छ । यसले विदेशी पर्यटकलाई पनि लोभ्याउने सामाजिक अभियन्ता चक्र चन्दले बताए ।
शङ्कर कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा वर्षा र अमरसहित सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, हिउँवाला गौतम, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतको अभिनय छ । फिल्ममा दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता छन् । आनन्द विक्रम क्षेत्रीको लेखन रहेको फिल्मलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।