यही साउन २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’का कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । यसैले त उनले फिल्म हेर्ने १२ जनालाई सुनको ‘चन्द्रहार’ उपहार दिने घोषणा गरेका छन् । फिल्मले उठाएको कथा पनि सुनसँगै सम्बन्धित छ । सुनको इतिहासलाई मुख्य विषयवस्तु बनाएर फिल्मले अन्तरजातीय सम्बन्धको कथा उठान गरेको छ ।
सुन व्यवसायीलाई प्रेरणा दिन र सुनको इतिहासलाई चिनाउन फिल्म बनाएको निर्माता खातीको भनाई छ । ‘फिल्मको ‘कन्सेप्ट’ मेरै हो । यो वास्तविक कथा हो । फिल्ममा सुनको इतिहास छ । परापूर्व कालमा सुन र कालीगढी काम कसरी अगाडि बढ्यो भन्ने कुरा देखाएका छौं,’ उनी भन्छन्, ‘सुन जन्मदेखि अन्त्यसम्म चाहिन्छ । यसको आफ्नै इतिहास छ । त्यही इतिहास फिल्ममा आएको छ ।’
फिल्ममा नारायण आफैंले कालीगढको भूमिका निर्वाह गरेका छन् । उनको छोराको भूमिकामा अभिनेता गौरव पहारी छन् । उनले यसअघि फिल्म ‘कोहिनूर’मा पनि अभिनय गरेका थिए । तर, भूमिका सानो थियो । बाल्यकालदेखि नै कलाकारिताप्रति रुचि भएका उनले ‘नम्बरी सुन’भन्दा अगाडि केही सिरिज निर्माण गरेका थिए । त्यसैको अनुभवले खातीलाई फिल्म निर्माण गर्न हौसला मिल्यो ।
‘नम्बरी सुन’मा बनावटी केही पनि नरहेको उनको दावी छ । सबै कुरा वास्तविक देखाइएको उनी बताउँछन् । तर, आफैं निर्माता र कलाकार हुँदा उनलाई निकै चुनौती महसुस भएको रहेछ । ‘निर्माताका रुपमा यो मेरो पहिलो फिल्म हो । निर्माता र कलाकार दुवै अनुभव संगालेँ । तनाव धेरै हुँदो रहेछ । फिल्ममा ठूलै पैसा लगानी भएको छ’, नारायण भन्छन्, ‘कुनै चीजमा कम्प्रमाइज गरिएन ।’
‘नम्बरी सुन’ सफल भए उनी अझै फिल्म बनाउने सोचमा छन् । ‘यो फिल्मले लगानी उठाउनेमा म आशावादी छु । किनकि, फिल्म एकदमै राम्रो बनेको छ । विषयवस्तु उस्तै सशक्त छ । अब्बल कलाकारहरु छन् । यसैले फिल्म सफल हुनेमा विश्वस्त छु । यसको लगानी उठेपछि मात्र अरु फिल्म निर्माण गर्ने योजना छ,’ निर्माता खाती भन्छन् । ‘नम्बरी सुन’लाई राजु गिरीले निर्देशन गरेका हुन् ।