मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमरको ‘मोदीबेनी’ अनुभवः ‘चरित्रको मनोदशामा प्रवेश गर्नु सबैभन्दा चुनौतीपूर्ण’

फिल्मीखबर, काठमाडौं, 2024/07/29

यही साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’बाट एक नायकको उदय हुँदैछ । तिनी हुन्, अमर प्रताप श्रेष्ठ । यो उनको डेब्यु फिल्म भए पनि त्यसअघि नै उनले केही नाटक, विज्ञापन तथा वेब सिरिजबाट अभिनयको अनुभव बटुलिसकेका थिए । अब उनले फिल्म अभिनयमा परीक्षा दिएका छन् । ट्रेलर हेर्दा उनीबाट आशा गर्ने ठाउँ देखिन्छ ।

 

AMAR-PRATAP-SHRESTHA-2


‘मोदीबेनी’बाट प्रस्ताव आउँदा अमर निकै उत्साहित भएका भए । यद्यपि, डर पनि यदाकदा उनमा थियो । उनी सम्झन्छन्, ‘मैले यो फिल्मको स्क्रिप्ट राम्रोसँग सुनेको थिएँ, त्यसैले यो अवसरको लागि म उत्साहित थिएँ । मेरो प्रारम्भिक प्रतिक्रिया उत्साह र अलिकति डरको मिश्रण थियो ।’ फिल्ममा काम गर्दाको अनुभव भने उनका लागि अविस्मरणीय रहन पुग्यो ।  

फिल्मको छायांकनको क्रममा उनले केही चुनौतीहरूको सामना गर्नुपर्‍यो । चरित्रको मनोदशामा प्रवेश गर्नु उनका लागि सबैभन्दा चुनौतीपूर्ण थियो । ‘केही दृश्यहरू भावनात्मक रूपका पनि थिए, जसका लागि मानसिक र भावनात्मक तयारीको आवश्यकता थियो । छायांकनको क्रममा जटिल स्थानमा छायांकन गर्नु र अप्रत्याशित मौसम स्थितिहरूसँग जुध्नुपर्ने जस्ता ‘लजिस्टिकल’ चुनौतीहरू पनि सामना गर्नुपर्‍यो,’ उनले स्मरण गरे ।

अमरको चरित्रमा प्रवेश गर्ने प्रक्रिया केही अनुसन्धान र मेथड एक्टिङमा आधारित थियो । उनले चरित्रको व्यक्तित्व बुझ्न लामो समय खर्चिए । स्क्रिप्टमा लेखिएको पात्र र आफूबीच समान देखिन केही मिहिनेत गर्नुपरेको उनको अनुभव छ ।

फिल्ममा निर्देशक र कलाकारसँगको सहकार्य उनका लागि उत्कृष्ट अनुभव रह्यो । अमर भन्छन्, ‘नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो, जसले मेरो अभिनयलाई बुझ्न सजिलो बनायो । को-एक्टर वर्षा सिवाकोटीबाट धेरै कुरा सिक्न पाएँ । सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारसँग काम गर्न पाउनु मेरो अहोभाग्य हो ।’

 

AMAR-PRATAP-SHRESTHA-2


‘मोदीबेनी’मा अमरका लागि सबैभन्दा चुनौतीपूर्ण र भावनात्मक रूपमा विक्षिप्त पार्ने एक दृश्य थियो । त्यसले दर्शकको पनि मन छुनसक्ने उनको विश्वास छ । ‘मेरो पात्रसँग सबैभन्दा चुनौतीपूर्ण एक दृश्य छ, जुन दृश्यले दर्शकलाई भावनात्मक रूपमा विक्षिप्त पार्न सक्छ । सो दृश्यले विछोडको सङ्घारलाई दर्साउँछ, जुन आम मानिसको जीवनमा कुनै न कुनै दिन भोग्नु परेको हुनसक्छ । द्वन्द्वसहितको भावनात्मक त्यो दृश्य छायांकनको बेला मैले चुनौती सामना गर्नुपरेको थियो,’ उनले छायांकनको दिन सम्झिए ।

शङ्कर कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा हिउँवाला गौतम, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ लगायतको पनि अभिनय छ । आनन्द विक्रम क्षेत्रीको लेखन रहेको फिल्ममा उत्सव दाहालको छायांकन छ ।