मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोक्सी प्रथाविरुद्धको कथामा बनेको ‘अग्निदहन’ मंसिर ७ मा

फिल्मीखबर, काठमाडौं, 2024/07/30

बोक्सी प्रथाविरुद्धको कथामा बनेको फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा दिवस अन्त्यको अवसर पारेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सञ्‍चार मन्त्री पृथ्वीसुब्बा गुरुङले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेका थिए । तीन फरक पोस्टरमा पात्रहरुको मनोदशा दर्शाइएको छ ।

 

agnidahan movie ko news (8)


मन्त्री गुरुङले बोक्सी प्रथा अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । निर्घात कुटपिट भएको छ । कयौंले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ,’ उनले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन निकै ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई हामी सबैले मिलेर फाल्नुपर्छ ।’

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुपमा भण्डारी, प्रमिला तुलाचन, विष्णु वास्तोला, तुलसी क्षेत्री, ताराबहादुर गुरुङ आदिको अभिनय छ । यसमा लोकमणि पौडेलको कथा, पटकथा एवं संवाद लेखन, दीर्घ गुरुङको छायांकन, जेशन कुँवरको पार्श्व संगीत, कोविदशरण उपाध्यायको परिकल्पना तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

निर्देशक लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले ‘सिनेम्याटिक’ तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ,’ उनले भने । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई विश्वव्यापी अभियानको रुपमा अगाडि बढाउने उद्देश्यले फिल्म बनाएको उनको भनाई छ ।

 

agnidahan


साहित्यकार लोकमणि पौडेलको उपन्यासमा आधारित भएर निर्माण भएको यो फिल्मलाई मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको छ । यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हेरिसकेका छन् । ‘अग्निदहन’को निर्माण मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले गरेको हो ।