गत हप्ता मात्र फिल्म ‘एक्टर’को छायांकन सकाएका अभिनेता प्रदीप खड्का अब अर्को फिल्म ‘पिताम्बर’को तयारीमा जुटेका छन् । केही दिनदेखि थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा भइरहेको वर्कसपमा उनले निर्देशकसहितको टिमसँग स्क्रिप्ट र चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छन् । वर्कसपमा उनीसहित सौगात मल्ल, अनुपविक्रम शाही लगायत पनि सहभागी छन् ।
यो फिल्मको पहिलो चरणको छायांकन गत वर्ष नै नवलपरासीमा गरिएको थियो । जसमा प्रदीप र सौगातको दृश्य थिएन । आगामी भदौबाट सुरु हुन लागेको दोस्रो चरणको छायांकनमा भने उनीहरुकै दृश्य बढी छ । एक्सन जनरामा बन्न लागेको फिल्ममा आँचल शर्मा, प्रमोद अग्रहरी, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारीको पनि अभिनय रहनेछ ।
‘पिताम्बर’मा कृषा चौलागाइँले निर्देशनको जिम्मेवारी सम्हालेकी छन् । निर्देशनको हिसाबले उनको यो दोस्रो फिल्म हो । यसअघि उनले ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी थिइन् । ‘पिताम्बर’लाई उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँछिन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्म ५ करोडको बजेटमा बन्नेछ ।