यही साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’बाट अभिनेत्री रेजिना उप्रेतीको करिअरको दोस्रो इनिङ सुरु भएको छ । यो फिल्मबाट उनले झन्डै ९ वर्षपछि कमब्याक गरेकी हुन् । एनलगको युगमा ६०/६५ वटा फिल्ममा काम गरेकी रेजिना विवाहपछि अभिनयमा निस्क्रिय देखिएकी थिइन् । अब उनको आगामी यात्राका लागि ‘मोदीबेनी’को सफलता अनिवार्य छ ।
९ वर्षपछि फिल्म गर्दा केही त हुनुपर्यो नि भन्ने उनलाई सधैं लाग्थ्यो । देखिनलाई मात्र काम गर्न चाहन्न थिइन् उनी । ‘मोदीबेनी’को कथा सुनेपछि भने उनी कमब्याकका लागि तयार भइन् । ‘देखिनका लागि मात्र अब किन फिल्म गर्ने भन्ने मलाई सधैं लाग्थ्यो । जब ‘मोदीबेनी’को कथा सुनेँ, केही फरक लाग्यो । मेरो रोल पनि फरक छ । यस्तो रोल यसअघि मैले गरेको नै थिइनँ,’ रेजिना भन्छिन् ।
आफू ९ वर्षपछि यतिकै फिल्ममा नआएको उनको तर्क छ । काम देखाउने ठाउँ भएर नै ‘मोदीबेनी’ गरेको उनी बताउँछिन् । ‘म ९ वर्षपछि फिल्ममा यतिकै आएको छैन । मैले केही चीज देखाउने ठाउँ नभइ ‘मोदीबेनी’ रोजेको होइन,’ रेजिना थप्छिन्, ‘म ‘पिक’मा हुँदा दर्शकहरुले जुन रुपमा देख्नुभयो, त्यो सबै फिल्ममा छ ।’ यसमा उनी अभिनेत्री वर्षा सिवाकोटीकी आमाको भूमिकामा छिन् ।
पहिला र अहिलेको काम गर्ने तरिका नै फरक रहेको रेजिनाको अनुभव छ । ‘पहिला डाइलग घोकेर काम गरिन्थ्यो । रिलको क्यान सकिन्छ भनेर धेरै टेक लिइन्न थियो । अहिले आनन्द छ । ५/१० टेक पनि लिन पाइन्छ । कसैलाई हतार छैन । राम्रो नआउँदासम्म टेक लिएको लियै हुन्छ,’ उनी भन्छिन्, ‘पहिला धेरै टेक लिँदा काम विग्रिँदै जान्थ्यो । अहिले जति गर्यो, उति राम्रो हुँदै जाने रहेछ ।’
रेजिनालाई नेपालमा पुराना कलाकारलाई काम गराउने चलन खासै छैन भन्ने लाग्छ । जो चलेको छन्, तिनीहरुमै फिल्म क्षेत्र घुमेको उनको बुझाई छ । भन्छिन्, ‘यहाँ पुराना कलाकारलाई काम गराउने चलन कम छ । अहिले जो चलिरहेका छन्, उनीहरुकै वरिपरि फिल्म क्षेत्र घुमिरहेको छ । नयाँ र पुरानालाई मिलाएर पनि त काम गर्न सकिन्छ नि । त्यो हुँदा दुवै पुस्ताले सिक्ने मौका पाउँछन् ।’