यतिबेला विश्व बजारमा धमाका मच्चाइरहेको हलिउड फिल्म ‘डेडपुल एन्ड उल्भरिन’ एक सातापछि शुक्रबारदेखि नेपालका हलमा लागेको छ । एड्भान्स बुकिङ नै आक्रामक रहेको यो फिल्मसँग बक्स अफिस प्रतिस्पर्धामा भने नेपाली फिल्म ‘मोदीबेनी’ उत्रिएको छ । ‘डेडपुल एन्ड उल्भरिन’को रिलिजका कारण मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको फिल्मलाई व्यापारमा ठूलो चुनौती देखिन्छ ।
यो फिल्मसँग बलिउड फिल्म ‘ओरोन मे कहाँ दम था’ पनि प्रतिस्पर्धामा छ । यद्यपि, यसले त्यति ठूलो असर नगर्न सक्छ । दुई ठूला हलिउड र बलिउड फिल्मको चुनौतीका बीच प्रदर्शनमा आएको ‘मोदीबेनी’लाई लगानी सुरक्षित गर्न ‘वर्ड अफ माउथ’ सशक्त हुन जरुरी छ । बुधबार गरिएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएकाले फिल्मप्रति दर्शक आकर्षित हुनेमा निर्माण टिम विश्वस्त देखिन्छ ।
पर्वत जिल्लाको मोदीबेनीमा घटेको एउटा अविश्वसनीय घटनामा आधारित भएर बनेको फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ (नव अभिनेता), सरोज खनाल, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, हिउँवाला गौतम, सुब्रत आचार्य, सरोज अर्याल, पूजन श्रेष्ठ, स्नेहा भट्टराई, गोविन्द सुनार, लविस गर्तौला लगायतको अभिनय छ भने शंकर कोइराला निर्देशक हुन् ।
आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका निर्माता दीलिप केसी र सह-निर्माता हरि श्रेष्ठ हुन् । यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ भने राम अविरल र शान भुसालको गीत रचना, एसडी योगी र शान भुसालको संगीत एवं एसडी योगी, स्वरूपराज आचार्य, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर छ । लास बोल्छ र हिँड्छ भन्ने मिथक कथामा ‘मोदीबेनी’ बनेको हो ।