अभिनेत्री नीति शाहको नियति भनौं वा दुर्भाग्य; जतिबेला ठूला ब्यानरबाट फिल्म अफर भए, ती कुनै पनि गरिनन् । पछि ती फिल्म सफल भए । जब डेब्युका लागि तयार भइन् तब सम्झौता गरेका फिल्म नै बनेनन् । लामो अन्योलतापछि डेब्यु गरेको फिल्म ‘खजुरे ब्रो’ पनि चलेन । यसैले यतिबेला उनलाई पहिला अफर आएका र सफल भएका फिल्म नगरेकोमा पश्चाताप हुन थालेको देखिन्छ ।
उनले हिट फिल्म ‘ड्रिम्स’ अस्वीकार गरेकी थिइन् । २०७९ सालमा आएको फिल्म ‘प्रेमगीत ३’ पनि उनलाई नै अफर गरिएको थियो । यसमा पनि उनले काम गरिनन् । ‘प्रेमगीत ३’ नगरेकोमा भने उनलाई पश्चाताप भइरहेको छ । बिहीबार एक हलको उद्घाटनमा अभिनेता प्रदीप खड्कासँगको भेटमा उनले पत्रकारहरुसँग कुराकानी गर्दै ‘प्रेमगीत ३’मा काम नगर्नु आफ्नो गल्ती रहेको बताइन् ।
उनले भनिन्, ‘त्यो मेरो गल्ती हो । ‘प्रेमगीत ३’ नगरेकोमा म आफ्नो गल्ती स्वीकार्छु । ‘प्रेमगीत ४’ चाहिँ गर्नैपर्छ भन्ने भइरहेको छ ।’ ‘प्रेमगीत ४’बाट अफर आएको खण्डमा काम गर्न तयार रहेको उनको आशय छ । ‘प्रेमगीत ३’मा प्रदीप र नीतिको सहकार्य सम्भव नभए पनि पछि अर्को फिल्म ‘कामिनो’मा उनीहरु एकसाथ काम गर्ने तरखरमा थिए । तर, यो फिल्म वर्कसपकै चरणमा थन्कियो ।
डिस होमको विज्ञापनमा पहिलोपटक एकसाथ काम गरेपछि एकअर्कासँग नजिक भएका प्रदीप र नीतिबीच फिल्मको विषयमा भने कुरा भइरहेको हुन्छ । ‘खजुरे ब्रो’को बेलामा पनि नीतिले केही कुरा सेअर गरेको प्रदीप सम्झन्छन् । उनी भन्छन्, ‘मलाई लाग्छ कि सही र गलत निर्णय भन्ने हुँदैन । आफूले काम गर्दै जाने हो । नीतिले राम्रो गरिरहेको छ । भविष्यमा हाम्रो सहकार्य अवश्य हुनेछ ।’