लभस्टोरी फिल्म निर्देशकको रुपमा चिनिएका सुदर्शन थापाले अब आफूलाई परिवर्तन गर्न खोजिरहेको देखिन्छ । अघिल्लो फिल्म ‘प्रसाद २’ सामाजिक विषयवस्तुमा बनाएका थिए । अब यस वर्ष उनले अर्को फिल्म ‘रावायण’ लिएर आउँदैछ, जुन एक्सन विधामा बनेको हो । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको टिजर हेर्दा साउथ शैलीको एक्सन पस्किएको देखिन्छ ।
संवादविहीन टिजर मारधाडका दृश्यले भरिएको छ । अभिनेता पल शाह एक्सन अवतारमा प्रस्तुत छन् । उनको दोहोरो भूमिका छ । एउटामा उनी लामो दाह्री-जुँगा र कपालमा देखिएका छन् भने अर्कोमा ‘क्लिनसेभ’ छ । तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई फिल्मले मुख्य कथावस्तु बनाएको टिजरले संकेत गर्छ । प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल नकारात्मक भूमिकामा छन् ।
अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र नीकिता चाण्डकलाई पनि टिजरमा देख्न सकिन्छ । निर्देशक थापाले यो फिल्म बनाउन आफूलाई निकै चुनौती भएको बताएका छन् । टिजर रिलिज कार्यक्रममा उनले भने, ‘एक्सन फिल्म भएकाले पनि यो मेरा लागि एकदमै चुनौतीपूर्ण थियो । मैले यो फिल्मबाट आफूलाई परिवर्तन गर्ने प्रयत्न गरेको छु ।’
पलले आफूलाई रोमान्टिक भूमिकामा देखिरहेका दर्शकका लागि ‘रावायण’को चरित्र फरक लाग्ने बताए । ‘मेरो लागि यो फिल्मको चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र राघव नामका दुई चरित्र निभाएको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ छ,’ उनले कार्यक्रममा भने, ‘मेरा लागि नेगेटिभ रोल एकदमै चुनौतीपूर्ण थियो ।’ उनले पहिलोपटक नकारात्मक भूमिकामा काम गरेका हुन् ।
कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुली लगायतको पनि अभिनय रहेको ‘रावायण’मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी एवं श्री श्रेष्ठको द्वन्द्व छ । आगामी भदौ २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।