फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला निर्माणको तयारीमा छ । हाल वर्कसप र कलाकार अनुबन्धित प्रक्रियामा रहेको फिल्मका निर्माताले छायांकनभन्दा अगावै प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्मलाई ग्याल्पो ल्होछारको सार्वजनिक विदा पारेर आगामी फागुन १६ गतेदेखि प्रदर्शन गरिने भएको छ । यसको दुई दिनअघि अर्थात् फागुन १४ गते भने फिल्म ‘लाज शरणम्’ प्रदर्शनको तयारीमा छ ।
आगामी भदौ २१ गतेबाट छायांकन सुरु गर्न लागिएको यो फिल्ममा पारस बम (कुल ब्वाई), रिहान गिरी (गायक), पदम तामाङ र सिम्रन पन्त मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अब अर्को मुख्य भूमिकामा आशिष घिमिरे भित्रिएका छन् । उनी कलाकार केदार घिमिरे (माग्ने बुढा)का छोरा हुन् । बाल्यकालमा आशिष टेलिसिरियल ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’को भूमिकामा देखिने गर्दथे ।
आशिषसँगै यो फिल्ममा कलाकार हेना नगरकोटीको पनि प्रवेश भएको छ । उनी थिएटर पृष्ठभूमिकी हुन् । एक्टर स्टुडियोमा लामो समयदेखि संलग्न रहेकी हेनासँग केही नाटक, वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’ तथा फिल्म ‘बाइरोड’मा अभिनय गरेको अनुभव छ । निर्देशक सशान कँडेलले ‘होस्टेल ३’मा निश्चित भएका सबै कलाकारको भूमिका एकदमै बलियो र अर्थपूर्ण रहेको बताएका छन् ।
माधव शर्माको स्क्रिप्ट लेखन रहेको फिल्मको कथा निर्देशक कँडेल आफैंको हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्मातामा शङ्कर कोइराला रहेका छन् । त्यसैगरी, निर्माताहरुमा कर्ण कार्की र गोविन्द अधिकारी, सह-निर्माताहरुमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा तथा लाइन प्रोड्युसरमा भेषराज गौतम छन् ।