अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा तयार भएको फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वरांकन (डबिङ) गरेका छन् । शनिबार अनामनगरस्थित म्यूजिक एरा रेकर्डिङ स्टुडियोमा उनले आफ्नो भागको दृश्यको स्वरांकन गरेका हुन् । फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् । छायांकन हुँदा भने उनी प्रधानमन्त्री थिएन ।
फिल्ममा पूर्व प्रधानमन्त्री माधव नेपाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय छ । उनीहरुले केही दिनअघि मात्र डबिङ गरेका थिए । ‘नमेटिने घाउ’ एसिड आक्रमणविरुद्धको कथामा बनेकाले यस्ता घटना रोक्ने प्रतिवद्धता जनाएको दृश्यमा नेताहरुले अभिनय गरेका हुन् । फिल्मले ३३ जना एसिड आक्रामणका पीडितको कथालाई उठाएको छ । र, पीडितहरुकै पनि अभिनय छ ।
आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, आरती आचार्य, प्रभात पाल ठकुरी, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, अखिल बजगाईंसहित दर्जनौं प्रहरीहरुको पनि अभिनय छ । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा बनेको ‘नमेटिने घाउ’मा शिवम् अधिकारीको लेखन छ भने गीतमा ओम सुनारको संगीत छ ।