अभिनेता अजय देवगनका लागि यस वर्षको सुरुवात अप्रत्याशित रह्यो । गत मार्चमा आएको फिल्म ‘शैतान’ले बक्स अफिसमा डेढ सय करोडको आँकडा नघाएको थियो । यसपछि भने उनका फिल्म लगातार बक्स अफिसमा डुबिरहेका छन् । गत अप्रिलमा उनी अभिनीत फिल्म ‘मैदान’ रिलिज भएको थियो । साढे २ सय करोडमा बनेको फिल्मले भारतमा मुश्किलले ५० करोड कमाई गर्यो ।
यसैबीच, अजयको अर्को फिल्म ‘औरो में कहाँ दम था’ पनि हलमा दम तोड्ने अवस्थामा पुगेको छ । यही शुक्रबार (अगस्ट २)देखि प्रदर्शनमा आएको यो फिल्मको ओपनिङ नै दयनीय रह्यो । २ करोडको ओपनिङ मिलेको फिल्मले दोस्रो दिन २ करोड १५ लाख (दुई दिनमा ४ करोड १५ लाख) कमाएको छ । आइतबार भारतमा सार्वजनिक विदा भएकाले ३ करोडसम्म कमाउने प्रक्षेपण छ ।
‘वर्ड अफ माउथ’ कमजोर रहेकाले सोमबारबाट फिल्मको व्यापार लाखमा झर्ने देखिन्छ । फिल्मको लाइफटाइम कलेक्सन बढीमा १० करोड रहने भारतीय मिडियाको आँकलन छ । जबकि, यसको निर्माण लागत मात्र एक सय करोड हो । तर, फिल्मको व्यापार हेर्दा अजयलाई तिरेको पारिश्रमिक समेत नउठ्ने देखिन्छ । यसमा उनले २५ करोड भारु बुझेको भारतीय मिडियामा उल्लेख छ ।
नीरज पाण्डेको निर्देशनमा बनेको फिल्ममा अजयसहित तब्बू, शान्तनु महेश्वरी र साई माञ्जरेकरको विशेष भूमिकामा छन् । शान्तनु र साईले युवा उमेरको अजय र तब्बूको भूमिका निर्वाह गरेका छन् । मेकर र अजयका कारण यो फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा थियो । तर, कमजोर धरातलमा बनेको फिल्मले दर्शक रिझाउन चुकेको छ । फिल्मलाई समीक्षकहरुले ‘आउटडेटेड’ भनेका छन् ।