केही वर्षदेखि नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले फिल्म निर्माणमा पनि सक्रियता बढाएको छ । यो कम्पनीको पहिलो निर्मित फिल्म ‘अगस्त्यः च्याप्टर वान’ थियो । यसपछि ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गर्यो, जसको गत साता मात्र छायांकन सकिएको छ । अब तेस्रो फिल्मको रुपमा सेभेन सिजले ‘रोल नम्बर एक’ निर्माण गर्ने भएको छ ।
आइतबार एक थिम पोस्टरमार्फत् फिल्मको घोषणा गरिएको हो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट तयार पारिएको पोस्टरमा कक्षा कोठाको अन्तिम बेन्चमा बसेका एक बालकले हात उठाएर आफ्नो उपस्थिति जनाएको देखिन्छ । पृष्ठभूमिमा भने विद्यार्थीहरु र पढाइरहेकी एक शिक्षिकालाई देख्न सकिन्छ । फिल्मले बालबालिकाको विषय उठाउन लागेको पोस्टरले प्रष्ट पार्छ ।
जोन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्म बाल मनोविज्ञानमा आधारित रहने जनाइएको छ । यसमा महेश दवाडीको पटकथा र संवाद तथा प्रशान्त शिवाकोटीको संगीत रहनेछ । जोनले यसअघि ‘बाह्र सत्ताइस’, ‘म राजेश हमाल’ र ‘आँखा’ गरी तीन फिल्मको निर्देशन गरिसकेका छन् । ‘रोल नम्बर एक’को दशैंपछि छायांकन गरेर आगामी वर्षभित्र विश्वव्यापी प्रदर्शनको तयारी गरिएको छ ।