बाबु साहेब बलामीको निर्देशन रहने फिल्म ‘माइली’को मुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की र गायिका समेत रहेकी कमला घिमिरेले ‘मुहूर्त सट’ दिएका थिए । यसमा उनीहरुले आमा-छोरीको भूमिका निभाउँदैछन् । कमलाले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । मंगलबारबाट फिल्मको छायांकन सुरु हुनेछ ।
रुना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा करिश्मा मानन्धर, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, सुष्मा लामा, गीता अधिकारी, शर्मिला मल्ल, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे, रेश्मा केसी आदिको पनि अभिनय रहनेछ । सत्य घटनामा आधारित भनिएको फिल्ममा निर्देशक बलामी स्वयंको कन्सेप्ट तथा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र संवाद लेखन छ ।
निर्देशक बलामीले फिल्ममा महिलाको पीडालाई देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय यसमा देखाइनेछ,’ निर्देशक बलामीले भने । फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
प्रियंकाले आफू ‘आउट साइड बक्स’ काम गर्न रुचाउने भएकाले ‘माइली’ त्यसको नै निरन्तरता रहेको बताएकी छन् । ‘माइली’लाई महिलाको भोगाईको कथा भन्न रुचाउँछिन् उनी । ‘यो गाउँको कथा हो । आम महिलाको भोगाईको कथा हो । पर्दामा आउर्नेपर्ने विषय फिल्ममा छ,’ उनले भनिन् । यसमा राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन र समीर मियाँको सम्पादन रहनेछ ।