गत वर्षको बैशाखमा रिलिज भएको फिल्म ‘बुलाकी’लाई निर्माताले दुई दिनमै हलबाट उतारेका थिए । एकसाथ प्रदर्शनमा आएको ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि रिलिज स्थगन गरिएको थियो । अब यही साउन ३२ गतेबाट फिल्मलाई रि-रिलिज गरिँदैछ । सोमबार काठमाडौंका एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा विवाहेत्तर सम्बन्धलाई देखाइएको छ ।
रोजगारीका लागि गएका श्रीमान् (नरेन खड्का)को पखाईमा बसेकी हिरा (सुरक्षा पन्त)को एक युवक (विराज विष्ट)सँग प्रेम बस्छ । र, उनीहरुले भागेर विवाह गर्छन् । त्यसपछि पूर्व श्रीमानले जारी (पहिलो श्रीमानले श्रीमतीलाई सम्पत्ति सोचेर अर्कोले चोरेबापतको क्षतिपूर्ति) तिराएको विषयलाई ट्रेलरमा समेटिएको छ । र, कर्णालीको ग्रामीण जीवन र महिलाको दुःखलाई पनि ट्रेलरले देखाउँछ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘बुलाकी’मा रमेश बुढाथोकी, लक्ष्मी गिरी, सुशील पोखरेल, कुलदीप अधिकारी, धनबहादर राई, लक्ष्मण देवकोटा, झलनाथ खत्री, सोनु सेढाइ, प्रकाश कँडेल लगायतको पनि अभिनय छ । टोपेन्द्र विष्ट निर्माता र शिवराज पौडेल कार्यकारी निर्माता रहेको यो फिल्ममा शिव ढकालको छायांकन, राजबहादुर सानेको लेखन तथा चलचित्र चौतारीको सम्पादन छ ।
फिल्मका प्रस्तुतकर्ता तथा अभिनेता विराज विष्टले ‘बुलाकी’ले कर्णालीको माटो, कला, संस्कृति, भाषा बोलेको बताए । ट्रेलर रिलिज कार्यक्रममा उनले भने, ‘पैसा कमाउनका लागि फिल्म बनाएको भए मैले अर्कै रोज्थेँ होला । कर्णालीको कथा देशभित्र मात्र नभएर बाहिर पनि पुग्नुपर्छ भन्ने सोचले फिल्म बनाएको हुँ ।’ विराजले फिल्ममा धेरै कुरा परिवर्तन गरेर प्रदर्शन गर्न लागिएको पनि बताए ।