अभिनेता गौरव पहारीले आफ्नो फिल्मी करिअरको एक दशकमा विभिन्न चरित्र निभाएका छन् । कुनैमा ‘लभर ब्वाई’ बने त कुनैमा राष्ट्रवादी चरित्र निर्वाह गरे । यही साउन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नम्बरी सुन’मा भने उनले कमेडीदेखि एक्सनसम्म गरेका छन् । यसैले काम गर्न पनि चुनौती भएको उनको अनुभव छ । एउटै पात्रमा दर्शकले फरक फ्लेवर पाउने उनको दाबी छ ।
‘म एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै क्यारेक्टर गरेको छु । फिल्मपिच्छे फरक चरित्र निभाउँदै आइरहेको मैले एउटै फिल्ममा धेरै जनरालाई एकसाथ अंगाल्दा चुनौती पनि थियो । एउटै पात्रमा सबै चरित्रहरु देखिनुपर्ने भएकाले नै फिल्ममा काम गर्न सहमत भएको थिएँ,’ उनी भन्छन् । फिल्ममा गौरवको अभिनेत्री नम्रता सापकोटासँग प्रेम देखाएको छ । तर, दुवैको जात मिल्दैन ।
‘मैले तल्लो वर्गको प्रतिनिधित्व गरेको छु । जसको मुखियाकी छोरीसँग माया बसेको हुन्छ । फिल्ममा मेरो बुवाले सुन बनाउने काम गर्नुहुन्छ,’ आफ्नो चरित्रबारे गौरव अगाडि भन्छन्, ‘मेरो चरित्र सहयोगी किसिमको छ । गाउँमा साथीहरुसँग हल्लिएर हिँड्ने चरित्र हो । तर, गाउँमा कसैलाई सहयोग चाहियो भने ऊ अगाडि सरिहाल्छ । त्यसको परिणाम कस्तो आउँछ भन्ने चाहिँ उसले सोच्दैन ।’
फिल्ममा राजेन्द्र खड्गीसँग गौरवको द्वन्द्वको दृश्य पनि छ । त्यो खिच्ने बेला भने उनी निकै ‘नर्भस’ भएका रहेछन् । उनी सम्झन्छन्, ‘राजेन्द्र अंकलसँग मेरो ‘वान एण्ड वान’ एक्सन दृश्य छ । त्यो अलि लामो थियो । मैले एक्सन गर्ने बेलामा राजेन्द्र अंकलको टाउको छुनु पर्ने थियो । तर, मैले झ्याम्मै बजाइदिएछु । तर, उहाँले छोड्नु भएको थिएन । म आफैं नर्भस भएर ‘क्यामरा कट’ भनेर रोकेँ ।’
गौरव आफ्नो जीवनमा ‘नम्बरी सुन’ सम्झिइरहने फिल्ममा पर्ने दाबी गर्छन् । अब उनलाई ‘नेगेटिभ क्यारेक्टर’ गर्न मन छ । तर, त्यो चरित्र देख्नासाथ ‘भिलेन’ जस्तो नदेखियोस् भन्ने उनी चाहन्छन् । ‘देख्ने बित्तिकै भिलेन होइन, बानी व्यवहारले भिलेन जस्तो । उसको परिचय नै भिलेन होइन तर काम गर्दै जाँदा ‘भिलेन पो रहेछ’ भन्ने किसिमको आभास दर्शकमा होस्,’ गौरवले आफ्नो इच्छा सुनाए ।