विवाह गरेपछि अभिनेत्रीको करिअर सुस्ताउँछ भन्ने परम्परागत भाष्य छ । केहीको हकमा यो देखिन्छ पनि । तर, वर्तमान पुस्ताका अभिनेत्रीहरुले यो भाष्यलाई गलत सावित गरेका छन् । यतिबेला नेपाली फिल्ममा ‘डिमान्डेड’ नै प्रायः विवाहित अभिनेत्रीहरु छन् । यसमा प्रियंका कार्की पनि पर्छिन् । विवाहपछि भलै उनले कम फिल्म गरिरहेकी छन् तर व्यस्ततामा कुनै पनि कमी आएको छैन ।
यो वर्ष अझ प्रियंकाको व्यस्तता चर्किएको देखिन्छ । केही समयअघि उनले फिल्म ‘रावायण’को छायांकन पूरा गरिन् । अब यसको प्रचारलाई समय दिनुपर्नेछ । यतिबेला ‘रोडिज’को छायांकन पनि चलिरहेको छ, जसमा उनी निर्णायक (जज)को भूमिकामा छिन् । साउन महिना सुरु भएदेखि तीज गीत पनि उनले भ्याइरहेकी छन् । १५/२० दिनमा उनले आधा दर्जन तीज गीत गरिसकेकी छन् ।
मंगलबारदेखि प्रियंका नयाँ फिल्म ‘माइली’को छायांकनमा जोडिएकी छन् । यसको छायांकन भइरहँदा उनी केही म्यूजिक भिडियो र ‘रोडिज’को पनि छायांकन भ्याउने तयारीमा छिन् । यसपालि साउन महिनामा उनी हरेक सोमबार व्रत बसिरहेकी छन् । व्रतको दिनमा समेत उनले छायांकन छाडेकी छैनन् । छायांकन मात्र होइन, फिल्म तथा गीतको कार्यक्रममा पनि प्रियंका पुगेकै हुन्छिन् ।
कुनै बेला उनको फिल्ममा बढी व्यस्तता हुन्थ्यो । तर, संख्यात्मक अभिनयमा जोड दिँदा आफ्नो साख जोगाउन सकिनन् । यतिबेला फिल्ममा उनको माग राम्रै देखिए पनि भूमिका बदलिन थालेको छ । यसअघि ‘फूलबारी’मा बुहारीको भूमिका निभाएकी उनी अब ‘माइली’मा आमाको भूमिकामा देखिँदैछिन् । तर, फिल्ममा आफ्नो बदलिँदो भूमिकालाई उनले स्वीकार गरेर अगाडि बढेकी छन् ।