दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । तीन अभिनेताहरु खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेको फिल्ममा अब दुईजना अभिनेत्रीको प्रवेश भएको छ । केकी अधिकारी र उपासना सिंह ठकुरीलाई निर्माण टिमले मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।
गत बैशाखमा आएको आफ्नो होम प्रोडक्सनको फिल्म ‘बोक्सीको घर’ बक्स अफिसमा ‘ब्लकबस्टर’ भएपछि केकी ‘के घर के डेरा २’बाट अभिनयमा फर्किन लागेकी हुन् । उपासनाले भने गत जेठमा ‘खुस्मा’को छायांकन सकाएकी थिइन् । केकी र उपासनाबीच यो पहिलो पटक सहकार्य हो । फिल्ममा उनीहरुको जोडी तीन अभिनेतामध्ये कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराइएको छैन ।
यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्ममा उपन्यासकार बुद्धिसागरको लेखन छ । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।