मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नम्बरी सुन’मा मेरो चरित्र क्रुर छैन : सरोज खनाल

फिल्मीखबर, काठमाडौं, 2024/08/08

कुनै समय हिरो भएर सरोज खनालले थुप्रै फिल्ममा काम गरे । तर, यतिबेला फिल्ममा उनको चरित्र बदलिएको छ । अमेरिकाबाट फर्किएपछि उनले चरित्र अभिनेताको रुपमा काम गर्दै आएका छन् । केही फिल्ममा त उनको भूमिका पनि एउटै छ । ‘पञ्चायत’ र ‘मोदीबेनी’मा मुखियाको भूमिकामा थिए । भोलि शुक्रबारबाट आउन लागेको फिल्म ‘नम्बरी सुन’मा पनि उनी मुखिया बनेका छन् ।

तर, ‘पञ्चायत’ र ‘मोदीबेनी’मा भन्दा ‘नम्बरी सुन’को चरित्र फरक रहेको उनको दाबी छ । यसमा आफू युवावस्थादेखि वृद्धावस्थाको गेटअपमा रहेको उनले बताए । ‘अघिल्ला दुई फिल्ममा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर, यसमा युवावस्थाको गेटअपमा छु,’ उनले भने । ट्रेलर हेर्दा उनको चरित्र क्रुर देखिन्छ । तर, आफ्नो चरित्र कमलो हृदयको पनि रहेको उनको दाबी छ ।

 

Saroj Khanal 4


‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । उसले गाउँले र परिवारलाई असाध्धै माया गर्छ । फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुरुवात मेरै घरबाट हुन्छ’, सरोज भन्छन्, ‘विस्तारै कथा बढ्दा समय र परिस्थितिले उसलाई केही क्रुर पनि बनाउँछ । फिल्ममा म कमलो हृदयको मान्छे पनि छु । ट्रेलरमै मलाई नराम्ररी रोएको देखिन्छ । क्रुर मान्छे त्यसरी कहिल्यै रुँदैन ।’

सरोजलाई ‘रियल’मा आफू मुखिया जस्तो देखिन्न भन्ने लाग्छ । तर, फिल्ममा यस्तो क्यारेक्टर गर्दा उनलाई निकै रमाइलो लाग्ने रहेछ । ‘कलाकारको पहिचान भनेकै त्यही त हो । म जस्तो देखिन्छु, त्यस्तै देखाउनु, त्यस्तै गर्नु, अथवा मलाई सजिलो हुने जनराको मात्रै फिल्म गर्नु भनेको त म कलाकार नै होइन नि,’ सरोजको बुझाई छ । ‘नम्बरी सुन’लाई उनी नेपाली समाजको यथार्थ कथा मान्छन् ।

केही निर्देशक आफूसँग रिसाएको सरोजको अनुभव छ । ‘म हरेक चरित्रमा न्याय दिने हरसम्भव प्रयास गर्छु । कति निर्देशक मसँग रिसाउनु पनि हुन्छ । यो मान्छेलाई लियो भने ‘ओभरटेक’ गर्न खोज्छ भन्ने उहाँहरुको बुझाई छ’, उनी भन्छन्, ‘मैले फिल्ममा काम गरेको झन्डै ४० वर्ष भइसक्यो । कस्तो गर्दा राम्रो हुन्छ भनेर कसैले सल्लाह माग्नुहुन्छ भने दिइन्छ । नत्र जे भन्नुहुन्छ त्यही गर्दिन्छु ।’