गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोदीबेनी’का कलाकार, निर्देशक र निर्माताको टिमले तालनगरी पोखरा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । पोखराका केही हलहरूमा दर्शकको चाप देखिएपछि फिल्मको टिम पोखरा पुगेको हो । बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स हल र सभागृह चोकमा अवस्थित मिडटाउन हलमा फिल्मको शोजमा उच्च अकुपेन्सी रहेको थियो ।
यिनै दुई हलमा बुधबार मुख्य कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, रोजी श्रेष्ठ, अनामिका लामिछाने, दीपेन्द्र गौतम, निर्देशक शंकर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दीलिप केसी र हरि श्रेष्ठ पुगेका थिए । पोखराका हलमा दर्शकहरूको चाप देखिएपछि निर्देशक कोइरालाले खुसी व्यक्त गरे । ‘वर्ड अफ माउथ’ले राम्रो काम गरिरहेको उनको भनाई छ ।
फिल्मको ‘थ्रिलिङ पार्ट’ विशेष रुचाइएकोमा खुसी व्यक्त गर्दै शंकर भन्छन्, ‘पहिलो भागमा क्यारेक्टर स्थापित गरेर दोस्रो भागमा ‘थ्रिलिङ’ दृश्य राखेका थियौं । यसैले दर्शकले ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु ।’ लास हिँड्छ र बोल्छ भन्ने मिथकमा आधारित भएर बनेको फिल्मको जापान राइट्स समेत बिक्री भइसकेको छ । तर, नेपालमा व्यापार अपेक्षाकृत रहन सकेको छैन ।