वर्षातका बावजूद पनि साउन महिनामा फिल्मको खडेरी देखिएको छैन । हरेक हप्ता फिल्म रिलिज भैरहेका छन् । तर, व्यापारमा भने खडेरी नै देखिन्छ । साउन पहिलो र दोस्रो हप्ता आएका फिल्म (ईश्वर र मोदीबेनी)ले पोस्टर छपाईको पनि पैसा उठाएनन् । अब साउनका लागि तेस्रो फिल्मको रुपमा ‘नम्बरी सुन’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मले सोलो रिलिज पाएको छ ।
फिल्मप्रति दर्शकलाई आकर्षित गर्न निर्माताले सुन उपहार योजना समेत ल्याएका छन् । ‘खल्ती एप’बाट फिल्मको टिकट काट्ने ५ जना र हलमै गएर टिकट काट्ने ७ जनालाई सुनको मोतीवाला चन्द्रहार प्रदान गरिनेछ । त्यो उपहार ‘लक्की ड्र’ मार्फत् सार्वजनिक गरिने प्रस्तुतकर्ता नारायण खातीले बताए । सुन उपहार योजनाले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।
राजु गिरीको निर्देशनमा बनेको ‘नम्बरी सुन’मा गौरव पहारी र नम्रता सापकोटा प्रमुख भूमिकामा छन् भने राजाराम पौडेल, राजेन्द्र खड्गी, सरोज खनालसविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, कंगना गिरी, राजेन्द्र गिरी, अस्मिता न्यौपाने आदिको अभिनय छ । फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल रहेका छन् ।
यसमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व तथा गौतमराज खड्काको सम्पादन छ । गौरव र नम्रताका लागि ‘नम्बरी सुन’ व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाब छ । किनकि, उनीहरु लामो समयदेखि सफल फिल्मबाट बञ्चित छन् ।