नेपालमा प्रदर्शनपचात् फिल्म ‘घरज्वाइँ’ले विदेशको फन्को लगाउन सुरु गरिसकेको छ । अमेरिका, डेनमार्क जस्ता देशपछि अब जापानमा फिल्मलाई प्रदर्शन गरिने भएको छ । आगामी आइतबार (अगस्ट ११) जापानको राजधानी टोकियोमा फिल्मको पहिलो प्रदर्शन हुन लागेको निर्माता जनक घर्ती मगरले जानकारी दिए । जापानभरि नेपाल मगर संघ जापानले फिल्मलाई प्रदर्शन गर्नेछ ।
फिल्मको प्रदर्शनका लागि अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् । जापानमा मिरुनाको माग आएपछि उनलाई निमन्त्रणा गरिएको मगर संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले बताए । अगस्ट ११ तारिखमा टोकियोपछि १४ तारिखमा नागोया र ओसाका सहरमा शो राखिएको छ । सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि फिल्म प्रदर्शन हुनेछ ।
मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर बनेको फिल्ममा मिरुनाको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । अनिल बुढा मगरको निर्देशन रहेको ‘घरज्वाइँ’ गत असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । अहिले केही हलमा फिल्म ५औं हप्तामा प्रदर्शनरत छ । फिल्मले नेपालबाटै लगानी उठाएर नाफा समेत दिइसकेको निर्माताको दाबी छ ।