अभिनेत्री मलिका महतले फिल्मी करिअर सुरु गरेको धेरै भएको छैन । उनको पहिलो फिल्म ‘यात्रा’ २०७५ सालमा आएको थियो । यसपछि ‘पानीफोटो’ र ‘अगस्त्य’मा काम गरेकी उनको चौंथो फिल्म ‘सतीदेवी’ आगामी भदौ ७ गते प्रदर्शनमा आउँदैछ । अघिल्ला तीन फिल्म उनीमा केन्द्रित थिएनन् । तर, ‘सतीदेवी’ उनकै काँधमा छ । त्यसैले मलिकालाई आफैंले फिल्म चलाउनुपर्ने दबाब छ ।
तर, उनलाई कोही एक व्यक्तिका कारण फिल्म चल्ने वा नचल्ने हुन्छ भन्ने लाग्दैन । उनी भन्छन्, ‘कसैको कारणले फिल्म चल्छ वा चल्दैन भन्ने हुन्छ जस्तो मलाई लाग्दैन । फिल्म भनेको त टिमवर्क हो । मैले मात्र राम्रो गरेर पनि हुन्न । फिल्म राम्रो भएर मेरो काम ध्वस्त छ भने पनि हुँदैन । सबै पक्ष उस्तै राम्रो हुनुपर्छ । यसमा त्यो चीज छ भन्ने लाग्छ । यसैले फिल्म सफल हुनेमा म विश्वस्त छु ।’
उनी ‘सतीदेवी’लाई छोरीको दृष्टिकोणबाट भनिएको कथा मान्छिन् । ‘यो महिला प्रधान फिल्म हो । छोरा र छोरीबीचको भेदभावको कथामा फिल्म बनाएका छौं । यो हाम्रो समाजको यथार्थ कथा हो । त्यसलाई छोरीको दृष्टिकोणबाट देखाइएको छ,’ उनले भनिन् । ‘सतीदेवी’को सबैभन्दा बलियो पक्ष कथालाई मान्छिन् मलिका । यसमा जुनसुकै वर्गका दर्शक पनि ‘कनेक्ट’ हुने उनको विश्वास छ ।
स्क्रिप्टलाई सबैभन्दा महत्त्वपूर्ण मान्ने गरेकी मलिका ‘सतीदेवी’को स्क्रिप्ट एकपटक पढ्नसाथ काम गर्न राजी भएकी रहेछिन् । स्क्रिप्ट पढेपछि उनलाई लागेको रहेछ, ‘यो छाड्नु हुन्न ।’ ‘एकपटक स्क्रिप्ट पढ्ने वितिक्कै यो छाड्नु हुँदैन भन्ने भएको थियो,’ उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म पढेका स्क्रिप्टहरूमध्ये सबैभन्दा मन परेको नै ‘सतीदेवी’को हो । यसको स्क्रिप्ट एकदमै ‘परफेक्ट’ थियो ।’
‘सतीदेवी’को स्क्रिप्टमा जति चाहिने त्यति मात्र थियो भन्ने उनलाई लाग्छ । स्क्रिप्ट पढ्दाको क्षण स्मरण गर्दै उनले भनेकी छन्, ‘स्क्रिप्ट पढ्दा रमाइलो किताब पढेको जस्तो भएको थियो । पढेपछि छोड्नै मन लागेको थिएन । स्क्रिप्ट पढिसकेपछि के महसुस भयो भने यो त मैले गर्नैपर्छ । यसमा काम गर्न पनि चुनौती हुनेछ । तर, मैले गर्नैपर्छ भन्ने भयो । त्यही महसुसले गर्दा नै मैले ‘सतीदेवी’ गरेँ ।’