बसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’लाई यस वर्षको तिहारमा रिलिजको तयारी गरिएको छ । तर, प्रदर्शन मिति भने घोषणा हुन बाँकी छ । यतिबेला पोस्ट प्रोडक्सनमा रहेको फिल्मको यसै साता रोमान्टिक गीत रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ गीतमा निशान भट्टराई र समिक्षा अधिकारीले स्वर भरेका छन् भने यादव लम्सालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
यो गीतको छायांकन केही दिनभित्र गरिने निर्देशक निरौलाले बताए । जसमा फिल्मका शीर्ष अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहलाई प्रस्तुत गरिनेछ । गत महिना फिल्मको एक गीतबाहेकको छायांकन चित्लाङ र चितवनमा गरिएको थियो । पहिलो पटक जितु र नीतिको जोडी बाँधिएकाले फिल्म रोचक बनेको हुनसक्ने देखिन्छ । नामले नै फिल्म कमेडी विषयवस्तुमा बनेको बुझाउँछ ।
बुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहेको फिल्ममा राजकुमार पण्डितको प्रस्तुति छ भने मीना देवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा श्याम तामाङको डीओपी, सविन अधिकारीको कथा, शंकर धितालको पटकथा एवं संवाद छ ।