फिल्म ‘छक्का पञ्जा ४’मा काम गर्नुभन्दा अगाडि अभिनेत्री बेनिशा हमालको करिअर संकटग्रस्त थियो । श्रृंखलाबद्ध रुपमा उनका फिल्म असफल भैरहेका थिए । जसले गर्दा अभिनयको प्रशंसाका बावजूद उनी आफ्ना समकालीन अभिनेत्रीभन्दा ओझेलमा परेकी थिइन् । तर, ‘छक्का पञ्जा ४’को सफलताले उनको करिअरलाई नै गति दिएको छ । फिल्ममा उनको माग बढ्न थालेको देखिन्छ ।
यतिबेला उनलाई फिल्मको अभाव छैन । हातभरि फिल्म छन् । साउनमा मात्र बेनिशाले दुईवटा फिल्म सम्झौता गरिसकेकी छन् । दुई हप्ताअघि उनको मुख्य भूमिका रहने फिल्म ‘कल्ली’को फर्स्टलुक पोस्टरमार्फत् निर्माण घोषणा गरिएको थियो । यसमा उनको जोडी अभिनेता पल शाहसँग बाँधिँदैछ । बेनिशा यसै साता पलकै अभिनय रहने अर्को फिल्म ‘मोहर’मा पनि अनुबन्ध भएकी छन् ।
‘मोहर’मा बेनिशा सोलो अभिनेत्री भने रहने छैनन् । यसअघि नै अभिनेत्री नीति शाहको पनि प्रवेश भइसकेको छ । फिल्ममा पलको जोडी बेनिशा र नीतिमध्ये कोसँग बाँधिनेछ भन्ने बारेमा जानकारी गराइएको छैन । ओम प्रतीक गुरुङको निर्देशन रहने फिल्मलाई आगामी माघबाट छायांकन गर्ने तयारीमा निर्माण टिम छ । योभन्दा अगाडि बेनिशाले भदौमा ‘कल्ली’को छायांकन सकाउने छिन् ।
उनीसँग ‘कल्ली’ र ‘मोहर’ मात्र नभइ अर्को फिल्म ‘एक्लो’ पनि छ । यसमा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । यो फिल्म उनले अघिल्लो वर्ष नै सम्झौता गरेकी थिइन् । यसरी हेर्दा अहिले उनको ‘पाइपलाइन’मा तीनवटा फिल्म छन् । ‘छक्का पञ्जा ४’भन्दा अगाडि उनीसँग यसरी फिल्म थुप्रिएका थिएनन् । अब यी तीन फिल्मको नतिजाले उनको करिअरमा नै ठूलो अर्थ राख्नेछ ।